
काठमाडौं, सर्वोच्चमा औसत दैनिक ३२ मुद्दा दर्ता हुन्छन्, फर्स्योट ३० को मात्रै हुन्छ । यस हिसाबले पैससला हुन बाँकी मुद्दाको संख्या घट्नुको सट्टा हरेक वर्ष बढ्दो छ । अधिकांश मुद्दा जिल्ला र उच्च अदालतबाटै किनारा लगाउने तथा पुनरावलोकनको अनुमति भए मात्र सर्वाेच्चमा आउन पाउने व्यवस्था गर्न सुझाब ।
……
मुद्दाको चाप घटाउन सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीका तीन सुझाब
१. उच्च र जिल्ला अदालतलाई बलियो बनाउनुपर्छ । यी अदालत बलिया भएर जनताको विश्वास पाए सर्वोच्चमा कमै मुद्दा आउँछन् । चित्तबुझ्दो फैसला पाएपछि पुनरावेदन गर्नेको संख्या घट्छ । त्यसै कारण प्रधानन्यायाधीशले सबैभन्दा पहिलो नीतिगत रूपमा नै जिल्ला र उच्च अदालतलाई बलियो र विश्वासिलो बनाउनेतर्फ लाग्नुपर्छ ।
२. जिल्लामा एउटा मात्र अदालत हुनुहुँदैन । फौजदारी मुद्दा हेर्ने, देवानी र पारिवारिक मुद्दा हेर्ने छुट्टाछुट्टै अदालत हुनुपर्छ । भ्रष्टाचारको मुद्दाजस्तै विशिष्टीकृत अदालतले हेर्ने गरी अहिलेको जनशक्तिबाट पनि ती अदालत गठन गर्न सकिन्छ । कम्तीमा पनि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला सहरमा यस्ता अदालत गठन हुनुपर्छ । फेजवाइज यस्ता अदालत गठनले सर्वोच्चको भार घट्छ ।
३. कार्यालय समय सुरु भएको आधा घन्टामा इजलास बस्नुपर्छ । समय सकिनु आधा घन्टाअघि मात्र इजलास उठ्नुपर्छ । सक्दो कार्यालय समयभित्र बढी मुद्दा फस्र्योट गर्ने गरी न्यायाधीशले समय व्यवस्थापन गर्नुपर्छ ।
जनशक्ति अभावका कारण समयमै न्याय सम्पादन हुन नसक्दा सर्वोच्च अदालतमा मुद्दाको चाङ लागेको छ । अहिले करिब २५ हजार मुद्दा फैसला हुन बाँकी छन् । पाँच वर्ष नाघेका मुद्दाको संख्या मात्रै दुई हजारभन्दा बढी छ । कतिपय मुद्दा त १० वर्ष पुग्न लागेका छन् ।
गत आर्थिक वर्ष सर्वोच्चमा ११ हजार आठ सय एक मुद्दा दर्ता भएका थिए । २४ हजार एक सय ८० पुराना मुद्दा थिए । गत वर्ष ११ हजार दुई सय २५ फर्स्योट भए पनि २४ हजार सात सय ५६ मुद्दा हेर्न बाँकी थिए । चालू आर्थिक वर्षको असारयता मुद्दा थपिएर अहिले यो संख्या २५ हजार नाघिसकेको छ ।
जिल्ला र उच्च अदालतमा समेत गरी फैसला हुन बाँकी मुद्दाको संख्या अझ धेरै छ । गत असार मसान्तसम्म देशभरिका अदालतमा एक लाख २० हजार सात सय ७५ मुद्दा फैसला हुन बाँकी छन् । तीमध्ये दुई वर्ष नाघेका मुद्दाको संख्या मात्र १७ हजार दुई सय १८ छ ।
मुद्दा दर्ता हुने दर हरेक वर्ष बढ्दै गएको छ । जनशक्ति भने सीमित छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ । अहिले १९ जना मात्रै कार्यरत छन्, दुई न्यायाधीशको पद रिक्त छ । वर्षमा एउटा इजलासले एक हजार नौ सय २८ वटा मुद्दा फस्र्योट गर्नुपर्ने अवस्था रहेको सर्वोच्चको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सर्वोच्चले दैनिक औसत ३० मुद्दाको फैसला दिने गरेको छ । प्रवक्ता भद्रकाली पोखरेलका अनुसार दैनिक आठदेखि ११ वटासम्म इजलास बस्छन् । तर, सबै इजलासबाट फैसला आउँदैन, धेरैको पेसी लम्बिन्छन् ।
सर्वाेच्चले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष ०७६/७७ को प्रतिवेदनअनुसार पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार ५८ छ । त्यसमध्ये धेरैजसो तल्लो तहका अदालतको फैसलाउपर परेका पुनरावेदन छन् । जसमा भ्रष्टाचारलगायत गम्भीर प्रकृतिका मुद्दा पर्दछन् ।
मुद्दाको चाप अत्यधिक बढेकाले कार्यबोझ व्यवस्थापन चुनौतीपूर्ण बनेको सर्वोच्चको प्रतिवेदनमा उल्लेख छ । यसको व्यवस्थापनका लागि सर्वाेच्चको क्षेत्राधिकारसम्बन्धी कानुनी व्यवस्थाको पुनरावलोकन तथा न्यायाधीशको संख्या थप्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । धेरैजसो मुद्दाको अन्तिम टुंगो उच्च अदालतबाटै लगाउने व्यवस्था गर्नुपर्ने सर्वोच्चको सुझाब छ ।नयाँ पत्रिकाबाट







