April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

विकास तथा लगानीसँग जोडिएका विधेयकहरु अघि बढाइँदै

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै विकास तथा लगानीसँग जोडिएका दर्जनौं विधेयक अघि बढ्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा पुनःस्थापनासँगै संसद् बैठक शुरू भइसकेकाले पहिलो चरणमा सरकारले जारी गरेका अध्यादेश पेश हुने कार्यतालिका छ । त्यसलगत्तै संसद् विघटनपछि रोकिएर बसेका उक्त विधेयकहरू अघि बढाउने तयारी सचिवालयले गरेको छ ।

प्रतिनिधिसभाका सचिव गोपीनाथ योगीका अनुसार सरकारले अहिले ७ ओटा अध्यादेश प्रतिनिधिसभामा दर्ता गराएको छ । त्यसमध्ये पुनःस्थापनापछिको पहिलो दिनको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले टेबुल गरिसकेको छ ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले आगामी बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन), सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन)अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्दै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन)सहितका अन्य अध्यादेशसमेत सरकारले संसद्मा पेश गर्ने कार्यसूची छ ।

सरकारले संसद्मा पेश गरेको अध्यादेश टेबुल भएलगत्तै विकास तथा लगानीसँग जोडिएकासहित विभिन्न दर्जनौं विधेयकहरू अघि बढ्ने प्रतिनिधिसभा सचिव योगीको भनाइ छ । हिजोका दिनमा प्रतिनिधिसभा भंग हुँदा पेश भएका विधेयक पनि रोकिएको र नयाँ विधेयक पेश हुन सम्भव नभएको, तर अहिले पुनःस्थापित भएर बैठक बस्न थालेसँगै अब महत्त्वका साथ अघि बढाइने उनले बताए ।

प्रतिनिधिसभा भंग हुँदा आर्थिक तथा सामाजिक विषयवस्तुसँग जोडिएका करीब ५० ओटा विधेयक रोकिएका थिए । यीमध्ये तीन दर्जनभन्दा बढी विधेयक प्रतिनिधिसभामै अड्किएका थिए ।आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको