
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हिंसात्मक द्वन्द्व सकिएको दाबी गरे ।
‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’
ओलीले अब शान्तिपूर्ण बाटोबाट विप्लवले आफ्ना विचारहरू कार्यान्वयन गर्ने अपेक्षा राख्दै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई थुनामुक्त गर्न सुरु गरिसकेको बताए । ‘उहाँहरूको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी छ । त्यसले शान्तिपूर्ण ढंगले गतिविधि गर्छ, संगठन गर्छ । शान्तिपूर्ण ढंगले गतिविधि गर्ने भइसकेपछि उहाँका नेता–कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर हामी मिलाएर छाड्ने क्रम अगाडि बढाउँछौँ र छाड्छौँ,’ उनले भने, ‘मुद्दा–मामिला छन् भने तिनलाई अन्त्य गरिन्छ । धर्मेन्द्र त छुटिसक्नुभयो । छुट्ने क्रम सुरु भइसक्यो ।’
विप्लवको अवतरणलाई ओलीले ‘फोर्स ल्यान्डिङ’, ‘क्र्यास ल्यान्डिङ’ नभएर ‘सेफ ल्यान्डिङ’ भएको टिप्पणी गरे । उनले विप्लवले वार्तामा आएर साहसिक कदम चालेको भन्दै स्वागत, धन्यवाद तथा शुभकामना व्यक्त गरे । ‘विप्लवजीलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नुभएको छ त्यसबाट एउटा ठूलो ऐतिहासिक योगदान गर्नुभएको छ,’ उनले भने, ‘यसका निम्ति उहाँलाई राज्यका तर्फबाट र पार्टीका तर्फबाट पनि हार्दिक धन्यवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले नेपालले शान्ति खोजेको भन्दै नेपाली जनताले चाहेका विषयका फेहरिस्त नै प्रस्तुत गरे । ‘नेपाली जनतालाई चाहिएका कुराहरूमध्ये राष्ट्रियताको रक्षा, स्वाधीनताको रक्षा र सही प्रयोग राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रिय हितहरूको रक्षा, लोकतन्त्रको प्राप्ति, रक्षा र त्यसको सुदृढीकरण एवं प्रयोग हो । सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरहरूका प्राप्ति हुन्,’ उनले भने, ‘नेपाली जनताले चाहेको त्यत्तिकै महत्वपूर्ण कुरा शान्ति अर्थात् निर्भय वातावरणमा शान्तिपूर्ण ढंगले बाँच्न पाउने सबैको अधिकार हो । त्यो कुरा प्राप्त गर्ने चाहना या शान्तिपूर्ण समाजको चाहना नेपाली जनताको चाहना हो ।’ ओलीले नेपाली जनता सुशासन, भ्रष्टाचारको अन्त्य र विकासका प्रयासहरू गतिशील ढंगले अघि बढून् भन्ने चाहिरहेको बताए । उनले जनताले देखेका साझा सपना, राष्ट्रिय आकांक्षा र समृद्ध नेपाल सुखी नेपाली बनाउन शान्तिपूर्ण वातावरण र लोकतान्त्रिक प्रणाली चाहिने बताए । साथै उनले यिनै चिजहरू प्राप्त गर्ने सन्दर्भमा एउटा ऐतिहासिक काम भएको बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ओलीले शान्तिको क्षेत्रका हिसाबले संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल धेरै अगाडि आएकोसमेत ठोकुवा गरे । ‘केही समयअघिको राष्ट्रसंघको मूल्यांकनमा अमेरिका, चीन, पाकिस्तान, भारतभन्दा शान्तिको मापदण्डमा नेपाल धेरै अगाडि बढेको थियो,’ उनले भने, ‘भरे बेलुका राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला ? पहिले नै माथि पुगेको प्यारामिटर अब कहाँ पुग्ला ? यस योगदानका लागि विप्लवजीलाई धन्यवाद ।’







