April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

पक्राउ परेका विप्लव नेताकार्यकर्ता रिहा गर्न गृहको निर्देशन, १८ जना शुक्रबार छाड्ने तयारी

  • 2
    Shares

काठमाडौं, मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेसँगै गृह मन्त्रालयले पक्राउ परेका नेताकार्यकर्ता रिहा गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । उनीहरूलाई शुक्रबारदेखि रिहा गरिनेछ । 

गृहको निर्देशन जिल्ला प्रशासन कार्यालयको आदेशमा कारागार तथा हिरासतमा रहेकाहरूको हकमा मात्रै लागू हुनेछ । यसअनुसार प्रहरी हिरासतमा रहेका १८ जनालाई शुक्रबार छाड्ने सरकारको तयारी छ । उनीहरू सबैको मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएर छाड्ने तयारी भइरहेको छ ।

अदालतबाट मुद्दा चलेकाहरूलाई भने कानुनी प्रक्रिया पूरा गरेर मात्रै छाडिनेछ । सरकारले कागजी प्रक्रिया मिलाउन सहयोग गर्ने गृहका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘अदालतबाट मुद्दा चलेकाको हकमा गृहको निर्देशन लागू हुँदैन । छुट्नका लागि कानुनी प्रक्रिया पूरा गर्नैपर्छ, त्यसका लागि सरकारले आवश्यक सहयोग गर्छ,’ उनले भने, ‘त्यसैले रिहा गर्ने काम केही दिन लम्बिन सक्छ ।’

सरकारले २८ फागुन ०७५ मा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएयता दुई हजार १३ नेताकार्यकर्ता पक्राउ परेका थिए । एक सय २३ जना अहिले पनि विभिन्न मुद्दामा जेलमा छन् । त्यस्तै, १८ जना अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले प्रतिबन्धपछि पक्राउ परेकामध्ये एक हजार सात  सय ८७ जना मुद्दा दायरपछि छुटेको बताएको आजको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै, ८५ जनालाई साधारण सोधपुछपछि छाडिएको थियो । त्यस्तै, प्रतिबन्धपछि प्रहरी कारबाही र आन्तरिक दुर्घटनामा १६ नेताकार्यकर्ताले ज्यान गुमाएका छन् । यसबीचमा सबैभन्दा धेरै लुम्बिनी र गण्डकी प्रदेशबाट पक्राउ परेका छन् । लुम्बिनीबाट तीन सय ६७ र गण्डकीबाट तीन सय ५९ नेताकार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरी प्रवक्ता कुँवरले प्रतिबन्धपछि गण्डकी र लुम्बिनीमा अप्रेसन चलाइएकाले धेरै पक्राउ परेको बताए । त्यस्तै, उपत्यकाबाट तीन सय ३७ नेताकार्यकर्ता पक्राउ परेका थिए । जसमध्ये २२ जना जेलमा बन्दी छन् । सुदूरपश्चिम प्रदेशमा दुई सय १४ र प्रदेश १ मा दुई सय ९२१ जना पक्राउ परेका थिए । 

शीर्ष समाचार

धेरै पढिएको