
काठमाडौं, गत आर्थिक वर्ष ०७६÷७७ मा देशको आर्थिक वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशतमा झरेको छ । कुल गार्हस्थ्य उत्पादनको गणना हुन थालेको ६० वर्षको इतिहासमा देशको अर्थतन्त्र यति कमजोर कहिल्यै भएको थिएन ।
यसअघि गत वैशाखमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । केन्द्रीय तथ्यांक विभागले बिहीबार अन्तिम गणना सार्वजनिक गरेको हो । कोरोना महामारीले देशभर गरिएको लकडाउनको असरका कारण आर्थिक वृद्धिदर माइनस दुई प्रतिशतनजिक पुगेको विभागको भनाइ छ ।
तथ्यांक विभागले ०२२ देखि मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक राख्न थालेको हो । विश्व बैंकले भने ०१८ देखिको तथ्यांक राखेको छ । यसअघि आव ०२३÷२४, ०२७÷२८ र ०२९÷३० मा पनि अर्थतन्त्र संकुचनमा गएको थियो । तर, ती वर्षहरूमा क्रमशः माइनस १ दशमलव ५७, १ दशमलव ६४ र शून्य दशमलव ४९ प्रतिशतले मात्रै संकुचनमा गएको विभागको तथ्यांक छ । भूकम्प र नाकाबन्दीका कारण आव ०७२÷७३ मा आर्थिक वृद्धि शून्य दशमलव दुई प्रतिशत मात्रै भएको थियो ।
‘गत आर्थिक वर्षको चैतदेखि असारसम्मको अन्तिम त्रैमासभरि आर्थिक गतिविधि सामान्य अवस्थामा नफर्किएका कारण आर्थिक वृद्धिदर ऋणात्मक देखियो,’ केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले भने । कोरोनाको प्रभाव देखिनुअघि भने सरकारले आर्थिक वृद्धिको लक्ष्य सात प्रतिशत राखेको थियो । नयाँ पत्रिकाबाट







