April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

कांग्रेस महाधिवेशन: अन्तिम विकल्प भन्दै कार्यतालिका पनि मिचियो

  • 6
    Shares

काठमाडौं, अन्तिम विकल्पका रूपमा बदलिएको कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकासमेत मिच्ने क्रम सुरु भएको छ । १५ फागुनभित्र सिन्धुपाल्चोक, बारा र सप्तरीको समायोजन सक्ने कार्यतालिका बनाइएको भए पनि पूरा भएन ।

ती जिल्लाले अझै सदस्यता फाराम पाएका छैनन् । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने म्याद सकिन अब १० दिन मात्रै छ । जब कि संगठन समायोजनमा उत्पन्न विवादका कारण ती जिल्लामा सदस्यता फाराम रोकिएको छ ।

संघीय संरचनाअनुसार कांग्रेसले साबिकका कार्यसमितिलाई वडा, पालिका र प्रदेशस्तरीय समितिमा समायोजन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिएको थियो । तर, समितिले ७४ जिल्लामा मात्रै समायोजन सकेको छ । बाँकी रहेका जिल्लामा समेत विवादको समाधान गरी समायोजन टुंग्याउने कार्य भइरहेको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए । ‘७४ जिल्लाको काम पहिल्यै सकिएको हो । बाँकी जिल्लाको काम पनि हामीले गरिरहेका छौँ । बारा र सप्तरीमा साथीहरूले स्थलगत रूपमै काम गरेर फर्किनुभएको छ,’ अधिकारीले भने, ‘अब सिन्धुपाल्चोकमा पनि टोली नै पठाएर विवादको समाधान गर्छौँ ।’ 

महाधिवेशनको कार्यतालिकाबमोजिम समायोजन सक्नुपर्ने भए पनि जिल्लाका कांग्रेस नेताहरू गुटगत रूपमा विभाजित भएपछि निर्वाचन समितिलाई विवाद मिलाउन सकस परेको हो । ‘पहिल्यै सक्नुपर्ने हो, तर यसमा हामीले मात्रै गरेर हुने कुरा रहेन । नेता र नेतृत्वको सहमतिको कुरा पनि आउँछ । तर, यसपटक विवादको समाधान गर्छौँ । अब करिब एक सातामा समायोजनका काम सकिन्छन्,’ उनले भने । 

तर, जिल्ला सभापतिहरूले भने केन्द्रले गुटका आधारमा समायोजन गर्न खोज्दा समस्या आएको गुनासो गर्छन् । सिन्धुपाल्चोकका सभापति विकास लामाले महाधिवेशनको कार्यतालिकाबमोजिम वडा र पालिकाले क्रियाशीलको विवरण बुझाउन म्याद गुज्रिसक्दा पनि फाराम नै नपाएको गुनासो गरे ।

‘हाम्रो जिल्लाबाट पठाएको फाइल अझै खोलेको छैन । यसमा नेतृत्वकै हात छ । मलाई लाग्छ, यो कार्यतालिका पनि महाधिवेशन गर्ने गरी ल्याइएको होइन,’ लामाले भने । 

६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले बनाएको १४औँ महाधिवेशनको कार्यतालिकाबमोजिम २८ फागुनभित्र सबै जिल्ला र क्षेत्रीय समितिले क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्छ ।

जसअन्तर्गत १२ फागुनभित्र वडा कार्यसमितिले पालिका कार्यसमितिलाई र १६ फागुनभित्र पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई क्रियाशीलको विवरण बुझाइसक्नुपर्ने हुन्छ । तर, समायोजन नसकिएका तीन जिल्लाले सदस्यताको फाराम नै नपाएका कारण यो काम गरेका छैनन् । अरू करिब २५ वटा जिल्लाले पनि यी काम सकेका छैनन् । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको