April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

मर्मत गर्नुपर्ने विमानबाट डेढ महिनामा ६० उडान

काठमाडौं, हेभी ल्यान्डिङ गरिएको वायुसेवा निगमको एयरबस ३३० कलसाइन (एन९–एएलजेड) मकालु जहाज सवा लाख यात्रुको जीवन जोखिममा पारेर विनापरीक्षण दुई महिना उडान भएको पाइएको छ ।

क्याप्टेनद्वय सुनील श्रेष्ठ र महेशमान डंगोलले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको जहाज हेभी ल्यान्डिङ भएको थियो । जहाज हेभी ल्यान्डिङ भएपछि सम्पूर्ण परीक्षण गरेर मात्रै उडान गर्नुपर्ने हुन्छ । तर, निगम मौन बसेर यात्रुको ज्यान जोखिमै राखेर डेढ महिनादेखि ६० उडान–अवतरण गराएको गम्भीर तथ्य खुल्न आएको छ ।

जहाज सामान्य अवतरणका क्रममा ‘वान जी’ अर्थात् प्रतिसेकेन्ड ९.८ मिटरको गतिमा तल झर्ने गर्छ । तर, सो दिन २.४२ जी अर्थात् २२ मिटर प्रतिसेकेन्डको गतिमा जहाज अवतरण गरेको थियो । ८ जनवरीमा भएको ‘हेभी ल्यान्डिङ’लाई बेवास्ता गर्दै जहाज उडान भइरहेपछि २१ फेब्रुअरीमा जहाज निर्माता कम्पनी एयरबसले निगमको उडान सुरक्षा शाखामा जहाजमा समस्या आएको जानकारी इमेलमार्फत गराएको थियो ।

एयरबसको इमेलपछि निगमले २१ फेब्रुअरीको दुबई–काठमाडौं अवतरणपछि मात्रै समस्या आएको भन्दै जहाज र पाइलटलाई ग्राउन्डेड गराएको हो । साथै, निगम व्यवस्थापनले डेढ महिनापछि सो विषयमा आन्तरिक छानबिन समितिसमेत गठन गरेको छ ।

‘हेभी ल्यान्डिङ’पछि सो जहाजले विभिन्न गन्तव्यमा ६० वटा उडान गरेको तथ्यांक छ । २ सय ७३ सिट क्षमताको उक्त जहाजमा आधा मात्रै अकुपेन्सी हुँदा पनि १ लाख २४ हजार यात्रुको जीवन नै धरापमा पारेर निगमले उडान गरेको पाइएको छ । प्रत्येक उडानमा १६ जना क्रू मेम्बर हुन्छन् । नेपालबाट जाने यात्रु धेरै नभए पनि फर्कने क्रममा २ सय ५० यात्रु हुन्छन् । ‘हेभी ल्यान्डिङ’ हुँदा पनि २ सय ५६ यात्रु दोहाबाट लिएर आएको तथ्यांक छ ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको