April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

उर्लाबारी मृत्यु प्रकरण: एक पुर्पक्ष थुनामा, चार जना फरार

काठमाडौं, उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको शंकास्पद मृत्यु घटनामा मोरङ जिल्ला अदालतले आरोपित एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न र अर्का एक जनालाई तीन लाख धरौटी लिएर तारिखमा छाड्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार उर्लाबारी–६ का रिकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्ने र सोही ठाउँका कुमार राईलाई ३ लाख धरौटी लिएर तारिखमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।

उक्त घटनामा ६ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । दुवै जनाको बुधबार अदालतमा बयान लिइएको थियो । बाँकी चार जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्ने धमलाले बताए ।

उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, रमेश गिरी, मेहरमान दर्जी र कुमार राईविरुद्ध मुद्दा दर्ता भएको हो । उक्त घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवारजन तथा आफन्त आइतबारदेखि आन्दोलित छन् ।

उर्लाबारी–४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । मेहरमान, दीपेश, राजेशसँगै प्रवीणले उर्लाबारी पूर्वपट्टिको बस स्ट्यान्डनजिक सौरवी होटलमा मदिरा सेवन गरेर सबै मेहरमानको डेरामा सुत्न गएका थिए । प्रवीणको राति नै मृत्यु भएको र त्यसको जानकारी परिवारलाई बिहान ११ बजे मात्रै गराइएको थियो ।

घटनाको भोलिपल्टै पक्राउ परेका मेहरमान, दीपेश, राजेशलगायतमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएर अनुसन्धान थालेको थियो । उनीहरूलाई फागुन २ गते छाडिएकाले मृतकका परिवारजनले न्याय नपाउने आशंकाले खोजीनिती गर्न थालेका थिए । घटनामा जिल्ला प्रहरीले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम प्रतिवेदनले मृत्युको कारण नखुलेपछि भिसेरा परीक्षणका लागि पूर्वक्षेत्रीय विधि विज्ञान प्रयोगशाला धरानमा पठाइएको थियो ।

‘भिसेरा प्रतिवेदनमा पनि स्पष्ट रूपमा मृत्युको कारण नखुलाएपछि पुनः पत्राचार गरेर मृत्युको कारण खुलाई पठाइदिन आग्रह गर्‍यौं,’ उनले भने, ‘भिसेरा परीक्षण प्रतिवेदनमा निसास्सिएर मृत्यु भएको उल्लेख भएर आउँदा समय लाग्यो र जसले प्रहरीको अनुसन्धानमाथि शंका उब्जायो ।’ कान्तिपुर दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको