March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अघि बढ्यो अविश्वास प्रस्ताव

  • 11
    Shares

मोरङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा दर्ता गरेको प्रस्ताव दुई महिनापछि सदनमा पेस भएको हो।

प्रदेशसभाका ३७ जना सदस्यले हस्ताक्षर गरेको प्रस्ताव पुस १२ गते सचिवालयमा दर्ता भएको थियो। आइतबार निर्धारित समयभन्दा ढिलो सुरू भएको प्रदेशसभा बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा पेस गरे। बैठकमा मुख्यमन्त्रीसहित नेकपा ओली समूहका कोही पनि सांसद उपस्थित भएनन्।

सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेस भएको हो। सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित गराएर सदन सञ्चालन गर्नु कानुनसम्मत् नहुने बताए। निलम्बन गरिएका १६ सांसदलाई उपस्थित गराएकाले सदन बहिष्कार गरिएको उनको भनाइ छ। ‘हामीले कानुनी बाटोका विषयमा सभामुखलाई सम्झाएका थियौँ,’ कार्कीले भने ‘अहिले पार्टी नफुटेको समयमा नेकपा संसदीय दलले गरेको निर्णय मानेर १६ जना सांसद उपस्थित नगराउन हाम्रो माग हो।’

मुख्यमन्त्री राईले दलको नियम कानुनविपरीत काम गरेको भन्दै १६ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन्। सो समूहले बैठक बहिष्कार गर्नेबारे सभामुख प्रदीपकुमार भण्डारीलाई जानकारी गराएको थियो। संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९ ९१० बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ ९४० बमोजिम बैठकमा पेस भएको सभामुख भण्डारीले बताएको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

यससअघि बैठक रोक्न मुख्यमन्त्री राईले सभामुख भण्डारीलाई दबाब दिएका थिए। तर, सभामुखले अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका थिए। हिउँदे अधिवेशन सुरु भएर दुईपटक बसेर सत्तापक्षकै अवरोधका कारण छोटो समयमै सकिएको बैठक तेस्रो पटक आइतबार बोलाइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको