March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान माग

  • 1
    Share

सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “गाडी चल्नसक्ने अवस्था रहेन । २०६८ सालदेखि पार्टपुुर्जातर्फको ६५ प्रतिशतको भाडा समायोजन हुनै सकेको छैन । हप्ताहप्तामा डिजेलको मूल्य बढ्छ, त्यस कारण आयल निगमले चलाएको पेट्रोलियम पदार्थको स्वचालित मूल्यसूचीजस्तै यातायातको भाडादरलाई पनि सोही प्रणालीमा राखियो भने कसैलाई अप्ठ्यारो हुँदैन, सिस्टमले काम गर्छ । ”

सार्वजनिक यातायातको भाडादर अटो मोसनमा सञ्चालन गरिए धेरै कुराको सुधार हुने व्यवसायीको दाबी छ । यात्रुले अनलाइनमै भाडादर हेर्न सक्नुका साथै त्यसबाट नठगिने पनि व्यवसायीले दाबी गरेका छन् ।

भाडा वृद्धिका लागि सरकारसँग सधैँ माग गरिहनुपर्ने अवस्थाको पनि अन्त्य हुने बताउँदै व्यवसायीले सरकार, व्यवसायी र यात्रु कोही पनि समस्यामा पर्न नपर्ने गरी संरचना निर्माण गर्दा दीर्घकालीन रूपमा समस्याको समाधान हुने बताइएको छ ।

निजी क्षेत्रको लगानीमा परिरहेको नोक्सानी र असरलाई सरकारले मूल्याङ्कन गर्न नसकिरहेको व्यवसायीको गुनासो छ । लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आएको सार्वजनिक यातायात क्षेत्रलाई राहत दिनुका साटो मूल्यवृद्धि गरेर व्यवसाय नै गर्न नसक्ने अवस्थामा पुर्‍याइएको उपाध्यक्ष स्वाँरको भनाइ छ । गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको