July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

७ महिनामा भारतसहित तेस्रो मुलुकबाट ८ खर्बको वस्तु आयात

काठमाडौं, भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ । कोभिड-१९ को महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा वस्तुको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको छनक दिएको छ । 

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा भारतसहित तेस्रो मुलुकबाट नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात भएको छ । 

अघिल्लो वर्ष २०७६÷०७७ को यही अवधिको तुलनामा ४ करोडभन्दा बढी रुपैयाँभन्दा बढीको वस्तुको आयात भएको हो । अघिल्लो वर्षको यस अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो तथ्यांकले कोभिड—१९ को महामारीले थलिएको नेपालको बजार र उद्योग विस्तारै ठडिन लागेको विषयलाई पुष्टि गरेको छ । कोभिड महामारीको संक्रमण उत्सर्गमा रहेको समयमा आयात निर्यातको दर निकै खुम्चिएको थियो ।

पछिल्लो तथ्यांकअनुसार माघ महिनामा मात्रै विभिन्न मुलुकबाट नेपालमा १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। गत पुससम्म ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। आयात पुरानै लयमा फर्किंदै गर्दा व्यापार घाटा भने बढ्ने क्रम सुरु भएको छ। पहिलो ६ महिनासम्म आयात दर घट्दो र निर्यात दर बढ्दो भएर व्यापार घाटा सुधारोन्मुख अवस्थामा भए पनि पछिल्लो सातौं महिनाको आयात दर वृद्धि भएर व्यापार घाटा बढ्ने भएको छ। 

सात महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिमा तुलनामा ०.६६ प्रतिशतले कम हो। गत आवको यही अवधिमा ७ खर्ब ३८ अर्ब रुपैयाँबराबरको व्यापार घाटा भएको थियो। वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत छ भने निर्यातको हिस्सा भने ८ प्रतिशत मात्रै छ। 

पछिल्लो ७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ। कुल वैदेशिक व्यापारको आकार अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ०.५७ प्रतिशतले सुधार आएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको