April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

“एकल पुरुष” भत्ताले दैनिकी चलाउन सहज

काठमाडौं, ललितपुरको बागमती गाउँपालिका–४  स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले  दैनिकी चलाउन सहज भएको छ ।  

६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् । “दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ”, घलेले भने । घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी विवाह गरी अन्यत्रै गएपछि हाल  सम्पर्कमा नभएको र छोरोसमेत पत्ता नलागेको उनले बताए । 

घलेजस्तै गाउँपालिका–३ स्थित ट्टेडाँडाका अर्का एकल पुरुष हरिबहादुर सिञ्जालीले पनि गाउँपालिकाले प्रदान गरेको एकल पुरुष  भत्ताले राहत पाएको महसुस गरेका छन् । ६९ वर्र्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उनले बताए । 

“गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ”, उनले भने, “हामीजस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।” आजको गोरखापत्र दैनिकमा खबर छ । 

शीर्ष समाचार

धेरै पढिएको