April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

महासचिवको दौडधुपमा सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, बर्षमान पुन, र जनार्दन शर्मा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको महासचिव टुंगो लगाउँन सकेको छैन । प्रतिनिधि सभा विघटनसंगै नेकपा दाहाल–नेपाल समुहको बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष र संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको थियो । संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्ने निर्णय समेत गरिसकेको दाहाल–नेपाल समुहले महासचिव चयन गर्न सकेको छैन् ।

नेकपा स्रोतका अनुसार महासचिव हुनका लागि तत्कालिन एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालिन माओवादी केन्द्रबाट बर्षमान पुन, जनार्दन शर्मा दौडधुप गरिरहेका छन् । तर महासचिव तत्कालिन एमाले वा माओवादी केन्द्र कसले लिने भन्ने नै टुंगो लाग्न नसक्दा समस्या भएको छ ।

‘तत्कालिन एमालेबाट की माओवादी केन्द्रबाट पहिला त्यो नै टुंगो लाग्न सकेको छैन्’ नेकपा स्रोतले भन्यो, ‘पहिला पुरानो पार्टी कुनबाट हुने भन्ने टुंगो लागेपछि मात्रै को हुने भन्न सकिन्छ । दुबै अध्यक्षबीच नै कुरा मिलेको छैन् ।’

१९ पुसमा बसेको नेकपा दाहाल–नेपाल समुहको स्थायी कमिटी बैठकले नेकपा अध्यक्ष नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम टुंगो लगाउँन र नेताहरुको जिम्मेवारी बाँडफाँड गर्न कार्यदल गठन गरेको थियो ।

१० सदस्यीय कार्यदलको सदस्यहरुमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत रहेका छन् । सात दिनको समय पाएको यो कार्यदलले तोकिएकै समयभित्रमा आफ्नो जिम्मेवारी पुरा गर्न सकेन् ।

त्यसयता बसेको स्थायी कमिटी बैठकले महासचिव सहित पार्टी एकताको काम टुंगो लगाउँन सचिवालयलाई जिम्मेवारी दियो । तर अध्यक्षद्धय दाहाल र नेपालका बीचमा नै सहमती हुन नसक्दा महासचिव सहित नेताहरुको जिम्मेवारी बाँडफाँड सहित पार्टी एकताको बाँकी काम टुंगो लाग्न नसकेको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै दाहाल–नेपाल समुह चरणबद्ध आन्दोलनमा छ । सडक आन्दोलनमा रहेको नेकपा दाहाल–नेपाल समूहले संसद पुनस्र्थापना नहुँदा सम्म आन्दोलन जारी नै राख्ने बताउँदै आएको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको