March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

सिद्धबाबाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने

  • 12
    Shares

काठमाडौं, आफ्नै अनुयायी बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । 

गिरीलाई सफाइ दिएको फैसालाको पूर्णपाठ कार्यालयमा बुधबार प्राप्त भएपछि अध्ययन थालिएको जिल्ला न्यायाधिवक्ता नारायण रिमालले जानकारी दिए । ‘सफाइ पाउने फैसला भएको दुई महिनापछि पूर्ण पाठ हात परेको छ । हामीले अध्ययन सुरु गरेका छौँ । अध्ययनपछि पुनरावेदन प्रक्रियामा जान्छौँ,’ न्यायाधिवक्ता रिमालले भने । फैसलाको पूर्णपाठ ७५ पृष्ठ लामो भएकाले अध्ययनमा केही समय लाग्ने उनले बताए ।

फैसला प्राप्त भएको मितिले ७० दिनभित्र पुनरावेदन गर्नुपर्ने हुन्छ । त्रि–दण्ड धारण गरेकाले आफू स्त्री र अग्निबाट टाढा रहने अनुयायीलाई महिलाले शरीर समर्पण गरेपछि भएको तर्कसहित प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गत २२ मंसिरमा बलात्कार नठहर्ने फैसला सुनाएको थियो ।

‘जाहेरवाली र प्रतिवादीबीच आदानप्रदान भएका म्यासेजबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन,’ भन्ने व्यहोराको फैसला आएको कोइरालाले जानकारी दिए । 

गत ४ कात्तिक ०७६ मा सिद्धबाबाले करणी गरेको भन्दै ती महिलाले ११ मंसिर ०७६ मा जाहेरी दर्ता गराएकी थिइन् । जिल्ला प्रहरीले जाहेरी लिन नमानेपछि प्रहरी प्रधान कार्यालयमार्फत जाहेरी दर्ता गराइएको थियो । सो मुद्दामा सुरुदेखि बहस गर्ने सरकारी वकिल गोकुल खनालले न्यायाधीशको फैसला बदनियतपूर्ण रहेको भनेर सार्वजनिक गरेका थिए ।

लगत्तै खनाललाई १६ पुसमा जिल्ला वकिलको कार्यालय सप्तरी सरुवा गरिएको थियो । नयाँ पत्रिकासँगको टेलिफोन कुराकानीमा उनले सो मुद्दामा आफूले लामो समय काम गरेकाले पुनरावेदन गर्न सुनसरीलाई सक्दो सहयोग गर्ने बताए । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको