July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

माघ महीनामा इतिहासकै सबैभन्दा बढी आयात

काठमाडौं, माघ महिनामा नेपालको इतिहासकै सबैभन्दा बढी मासिक आयात भएको छ । कोरोनाको प्रभावबाट वैदेशिक व्यापार मुक्त भएसँगै माघ बहिनामा आयातको बढेर १ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । यो अघिल्लो वर्षको माघको तुलनामा ३१ प्रतिशतको वृद्धि हो ।

नेपालमा कोरोना महामारीको संक्रमण तथा जोखिम बढेसँगै चैत २०७६ देखि आयात व्यापार सुस्ताएको थियो । त्यसको १० महिनापछि आयात व्यापार हालसम्मकै उच्चदरमा बढेको हो ।

‘चालू आर्थिक वर्षको सात महिना (माघ)मा आइपुग्दा मासिक गणनामा हालसम्मकै उच्च आयात भएको छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । यसअघि असोज २०७५ मा १ खर्ब ४१ अर्ब २४ करोडको आयात भएको थियो । 

गत फागुन २०७६ देखि नेपालको आयात खस्किएको थियो । गत वर्ष फागुन महिनामा नेपालमा १ खर्ब २० अर्ब ४७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । त्यसपछिका तीन महिना आयात व्यापार झन्डै ५० प्रतिशतले घटेको थियो । चैतमा ५८ अर्ब २९ करोड, वैशाखमा ४२ अर्ब ६० करोड र जेठमा ७५ अर्ब ६८ करोड रुपैयाँको आयात भएको थियो । लकडाउनको अन्त्य भएर आर्थिक गतिविधि बढेसँगै आयात क्रमशः बढ्दै आएको थियो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको सात महिना (माघ महिनासम्ममा) नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँबरारको आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँले बढी हो ।

वार्षिक तुलनामा निरन्तर ऋणात्मक देखिएको आयात माघ महिनामा आइपुग्दा धनात्मक देखिएको हो । ‘एक वर्षभन्दा बढी समयदेखि वार्षिक तुलनामा आयात निरन्तर घटेको देखिएको थियो’ दाहालले भने, ‘माघ महिनामा आइपुग्दा गत वर्षको भन्दा केही बढेको देखियो, यसले कोरोनाको प्रभावपछि आयात व्यापार लयमा फर्किएको देखायो ।’नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको