August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

जसपाभित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेलमा 

काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा उत्रिएको छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न सकिरहेको छैन ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव संयुक्त आन्दोलनकै पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निर्णय पर्खिनुपर्ने’ भन्दै निर्वाचनको पक्ष छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त आन्दोलन गर्नुपर्ने विषयमा जसपा नेतासँग छलफल गरेका थिए । यद्यपि, कांग्रेस र जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले गत ५ पुसमा संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध विभिन्न राजनीतिक दल आन्दोलित हुँदै आएका छन् । जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले संयुक्त आन्दोलनका लागि एजेण्डा पनि संयुक्त हुनुपर्नेमा जोड दिए । राजनीतिक दलबीच संयुक्त एजेण्डामा सहमति हुन नसकेको र प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले ढिलाई भएको उनले जानकारी दिए ।

‘संयुक्त आन्दोलनका लागि दलहरूले पुनस्र्थापित प्रतिनिधि सभाबाट संविधान संशोधनसहितको मुद्दामा सहमति हुनुपर्यो,’ सुमनले भने, ‘प्राप्त उपलब्धिमा सबैले अपनत्व महशुस गर्नुपर्ने हुन्छ । संयुक्त आन्दोलनका लागि संयुक्त एजेण्डामा सहमति भएपछि पार्टीले पनि सोही अनुसार निर्णय गरेर अगाडि बढ्छ ।’

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच एकीकरण भई जसपा घोषणा भएपछि समायोजनासमेत अहिलेसम्म नटुंगिएको जसपा नेता बताउँछन् ।

पार्टी एकता भएको एक वर्ष पुग्नै लाग्न नेकपाजस्तै ‘भद्रगोल’ जसपामा पनि रहेको छ । विभिन्न पार्टीबीच एकीकरण हुँदै जसपा निर्माण भएकाले नेताका मतसमेत फरकफरक र कार्यशैली एउटै नभएकाले समस्या भएको बताइएको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको