काठमाडौं, कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थे्रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आक्रमण भएका छन् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रेट महसुस गरें ।’
ती सुरक्षा अधिकारीले ‘कार्यविधिअनुसार गर्नू भन्ने सरकारको आदेश हो’ भनेपछि महतले भनेका थिए, ‘गृह सचिव, गृहमन्त्री र आवश्यकता परे प्रधानमन्त्रीसँगै कुरा गर्छु ।’ महतको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका २ जना अंगरक्षक फागुन १ बाट फिर्ता भए ।
पूर्वगृहमन्त्री गोविन्दराज जोशी र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले पनि सुरक्षामा खटिएका प्रहरी फिर्ता गएपछि असन्तुष्टि जनाएका थिए । अंगरक्षक फिर्ता गर्न पुगेका सुरक्षा अधिकृतसँग जोशीले भनेका थिए, ‘म थ्रेट नै नभएको नेता त होइन तर सरकारले निर्णय गरेछ ।’
पूर्वअर्थ राज्यमन्त्री ल्हारक्याल लामाले अंगरक्षक फिर्ता नगर्न निकै दबाब दिएका थिए तर प्रहरीले अंगरक्षक फिर्ता लियो । केही साताअघि मात्रै मन्त्रिपरिषद्बाट पारित विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा नपरेकाहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी धमाधम फिर्ता गरिँदै छ ।
केही पूर्वपदाधिकारीले सुरक्षाकर्मी फिर्ताप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार डेढ दर्जन पूर्वमन्त्री तथा राजनीतिकर्मीले सुरक्षाकर्मी फिर्ता भएपछि आफूहरूलाई असुरक्षा रहेको कारण देखाउँदै अंगरक्षकको व्यवस्था गरिदिन गृह मन्त्रालयमा निवेदन दिएका छन् ।
राप्रपा अध्यक्ष एवं पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वगृह राज्यमन्त्रीद्वय कँडेल र रिजवान अन्सारी, पूर्वअर्थ राज्यमन्त्री लामालगायत नेताले अंगरक्षकको व्यवस्था गरिदिन गृहमा निवेदन दिएका हुन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।







