August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

बजार अनुगमनमा करोडौं सकियो तर महँगी भने झन् बढेको बढ्यै 

काठमाडौं, बजारभाउ हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन, झन् बढेको बढ्यै छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट मात्रै अनुगमन तथा उपभोक्ता हकहित सचेतनाका नाममा साढे २ वर्षमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको छ । तर साढे दुई वर्षकै बजार मूल्य विश्लेषण गर्दा बजार नियन्त्रणमा देखिँदैन ।

बजारभाउ हस्तक्षेपको मुख्य दायित्व विभागकै हो । तर हरेक वर्ष मूल्यवृद्धि उच्च रहेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ६ महिनामा मूल्यवृद्धि ३.५६ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको ६ महिनामा ६.८२ प्रतिशत र अघिल्लो आर्थिक वर्षको ६ महिनामा ४.५८ प्रतिशत मूल्यवृद्धि भएको छ ।


खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले पनि बजारभाउ अस्वाभाविक बढेको जानकारी दिए । तीन वर्षको अवधिमा मुसुरो प्रतिकिलो ५० रुपैयाँ बढेर १ सय ४० रुपैयाँ पुगेको संघको विवरण छ ।

रहर दाल प्रतिकिलो ६० रुपैयाँ बढेर १ सय ६० रुपैयाँ र हरियो केराउ ४५ रुपैयाँले बढेर १ सय २० रुपैयाँ पुगेको संघको तथ्यांक छ । पछिल्लो समय खाने तेलको मूल्य पनि छोइनसक्नु छ । राजनीतिक अस्थितरतासँगै खाने तेलको भाउ पनि बढेको जानकारहरू बताउँछन् ।

तीन वर्षको अवधिमा भटमास र सनफ्लावरको तेल प्रतिलिटर १ सय रुपैयाँसम्म बढेको संघको तथ्यांक छ । विभागले मूल्य विश्लेषणका क्रममा केही उद्योगीले कच्चा पदार्थको मूल्य बढ्दा एमआरपी मूल्य बढाउने तर कच्चा पदार्थको मूल्य घट्दा मूल्य यथावत् राखेको समेत भेटेको बताएको छ ।

मूल्यमा फरक देखिएपछि विभागले दुई तेल उद्योगलाई जरिवाना गरे पनि अन्यलाई कारबाही गरेन । अहिले केही उद्योगले भटमास र सनफ्लावर तेलको मूल्य केहीले घटाए पनि तोरीको तेलमा बढाएकै छन् । स्रोतका अनुसार विभागमै छलफल हुँदा उद्योगीले मूल्य थप बढ्ने बताउँदै आएको कान्तिपुर दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको