August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

भागरथी हत्या प्रकरण: सहपाठी पक्राउ, बदला लिन घटना घटाएको आरोपीको बयान

काठमाडौं, बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ । 

घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन् । बुधबार उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले मंगलबार राति भने । 

स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् । 

यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने । 

अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ ।

भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । ‘समाजमा उनको पृष्ठभूमि नकारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले भने, ‘यो घटनालगत्तै त्यो केटो डराएको देखिन्थ्यो, ऊ आफैँ  संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ । आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको आजको नयाँ पत्रिकामा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको