
काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा विपक्षीतर्फबाट सबै कानुन व्यवसायीले आफ्नो प्रतिरक्षा बहस सकेका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली तथा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीहरूले बहस सकेका हुन् ।
अब आइतबारदेखि बहसमा उठेका प्रश्नमा निवेदकका तर्फबाट जवाफ दिइने छ । जवाफपछि अदालतको आदेशअनुसार नेपाल बार र सर्वाेच्च अदालत बार एसोसिएसनबाट सिफारिस भएका एमिकस क्यूरीले इजलासलाई राय दिने क्रम सुरु हुनेछ । इजलासले १३ निवेदनका निवेदकहरूलाई समन्वय गरेर बढीमा पाँच जनाले जवाफ दिन आग्रह गरेको छ ।
यद्यपि बिहीबार इजलासमा उक्त विषयमा सहमति भएन । सबै निवेदकले जवाफ दिने आसय जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्यसलाई अस्वीकार गरेका थिए । अन्य न्यायाधीशहरूले पनि आपसमा समन्वय गरेर सङ्ख्या तय गर्न आग्रह गरेका थिए थिए । बिहीबार प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता बाबुराम दाहालले संसद्ले समेत सहयोग नगरेका कारण प्रधानमन्त्रीसँग विघटनको विकल्प नभएको जिकिर गरे ।
उनले ३७ विधेयक, दर्जनभन्दा बढी सन्धि सम्झौता सदनमा रोकिएको दाबी गर्दै सरकारले अगाडि बढाउन चाहेका कतिपय कार्यसूची प्रतिनिधि सभाले अघि नबढाएको जिकिर गरे ।
उनले रेल्वे विधेयक पारित नहुँदा रेल चलाउन नपाएको पनि तर्क गरे । बलियो संसद्को गरिमा कायम राख्नकै लागि प्रधानमन्त्रीले विघटन गर्नुपरेको भन्दै दाहालले दुई तिहाइ मत प्राप्तिका लागि विघटन गरिएको जिकिर गरे । दाहालले दुई तिहाइको जिकिर गरिरहँदा न्यायाधीश अनिलकुमार सिन्हाले फेरि चुनावबाट दुई तिहाइ नआए पुनः विघटन गर्ने हो भन्ने प्रश्न गरेका थिए ।गोरखापत्रबाट







