March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

कोरोनाका कारण बन्द भएका ११ प्रतिशत उद्योग फेरि खुलेनन् 

  • 1
    Share

काठमाडौं, कोभिड–१९ का कारण बन्द भएका ११ प्रतिशत उद्योग फेरि कहिल्यै खुल्न नसकेको उद्योग मन्त्रालयले गरेको अध्ययनले देखाएको छ । कोभिड–१९ को महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण बन्द भएका ती उद्योग सदाका लागि पलायन हुन पुगेका हुन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको ‘कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभाव’ विषयक अध्ययन प्रतिवेदनले कोभिडका कारण १० दशमलव ८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएको देखाएको हो । बाँकी ८९.१९ प्रतिशत उद्योग–व्यवसायहरू आंशिक रूपमा सञ्चालन भइरहेका छन् । सरकारले कोभिड–१९ महामारीको नियन्त्रणका लागि गरेको बन्दाबन्दी र त्यसपश्चात्को समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको प्रतिवेदनले देखाएको छ । कोभिडका कारण पूर्ण रूपमा बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ ।  

मन्त्रालयले गत १७ कात्तिकदेखि १६ मंसिरसम्म तथ्यांक संकलन गरेको थियो । अध्ययनमा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा–पित्तलका भाँडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोसाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने ३७ उद्योग–व्यवसाय सहभागी थिए । जसमा लघु उद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग ८ वटा, मझौला उद्योग ४ वटा र ठूला उद्योग ८ वटा रहेका छन् । कोभिड–१९ महामारीका कारण उद्योग–व्यवसायको सञ्चालन क्षमता घटेको तथा उत्पादनमा समेत गिरावट आएको छ । 

उद्योगी तथा व्यवसायीहरूले कच्चा पदार्थको आपूर्र्ति, श्रमिक परिचालन र उत्पादनको बजारीकरणमा समस्या भोगिरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कोभिडका कारण बन्दाबन्दीको समयदेखि हालसम्म उद्योग–व्यवसायमा परेको प्रभाव आकलन गर्न, उद्योग–व्यवसायलाई पहिलेकै अवस्थामा ल्याउन तथा उद्योग–व्यवसायको प्रवद्र्धन गर्न नेपाल सरकारले चाल्नुपर्ने नीति तथा कार्यक्रम पहिचान गर्ने उद्देश्यले मन्त्रालयले अध्ययन गरेको हो ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको