March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

सीमा सुरक्षा र व्यवस्थापनमा बढ्यो सेनाको चासो

  • 13
    Shares

काठमाडौं, नेपाली सेनाले पछिल्लोपटक अन्तर्राष्ट्रिय सीमा सुरक्षा र व्यवस्थापनमा सक्रियता बढाएको छ । संविधानअनुसार सेनाले मुलुकको भौगोलिक अखण्डताको जिम्मेवारी पाए पनि विगतमा सीमा सुरक्षाबारे सक्रिय रूपमा भूमिका निर्वाह गरेको थिएन । तर, राष्ट्रिय सुरक्षा नीति २०७५ ले सीमा व्यवस्थापन र सुरक्षाबारे सेनाको भूमिका उल्लेख गरेसँगै सेना सक्रिय भएको हो ।

सेनाले दीर्घकालीन सुरक्षाका दृष्टिले नेपाल भारत खुला सीमा नियमन गर्नुपर्नेमा जोड दिएको छ । सेनाकै सक्रियतामा आइतबार र सोमबार राष्ट्रिय सुरक्षा परिषद्द्वारा आयोजित सेमिनारले सीमा व्यवस्थापन र सुरक्षाका लागि अधिकार सम्पन्न बेग्लै संयुक्त संयन्त्र गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सेमिनारमा सीमा सुरक्षा र व्यवस्थापनसँग सम्बद्ध निकायहरूबीच समन्वय, सहयोग र सहकार्य हुन नसकेको विषयमा छलफल भएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेमिनारमा प्रस्तुतीकरणका क्रममा सीमा व्यवस्थापनमा ३४ निकाय संलग्न भएको, तर एउटै उद्देश्य र लक्ष्य भएका अन्तरनिकायहरूबीच समन्वय र सहयोगको वातावरण नभएको बताएका थिए । 

‘सम्बद्ध निकायहरूबीच एकीकृत र समन्वयात्मक अवधारणाअनुसार काम गर्नुपर्छ र नीतिगत रूपमै अधिकारसम्पन्‍न छुट्टै संयुक्त संयन्त्रको निर्माण गर्नु आवश्यक छ भन्ने निष्कर्ष आएको छ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नयाँ पत्रिकासँग भने । सेमिनारले ‘सीमासम्बन्धी ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणहरू छरिएर रहेको अवस्था भएकाले यसको संकलन र संरक्षण गर्न’ निश्चित निकायलाई जिम्मेवार बनाउनुपर्ने पनि निष्कर्ष निकालेको छ ।

हामीले एक्कासि सीमाका बारेमा चासो राखेका होइनौँ,’ एक सैनिक अधिकारीले भने । उनका अनुसार राष्ट्रिय सुरक्षा नीति २०७५ मा र त्यसको कार्यान्वयन योजनामा सीमा सुरक्षा र व्यवस्थापनमा नेपाली सेनाको भूमिकाबारे उल्लेख छ । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल खटिएको छ, तर अन्तर्राष्ट्रिय प्रचलन र सुरक्षा नीतिअनुसार सीमा सुरक्षा र व्यवस्थापनमा सेनाको महत्त्वपूर्ण भूमिका छ, त्यही सिलसिलामा सबैलाई नीतिगत रूपमा पनि समन्वय गर्न खोजेका हौँ,’ ती सैनिक अधिकारीले भने । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको