February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

भागरथी हत्या प्रकरण: नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीको आशंका

  • 7
    Shares

काठमाडौं, बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोनलाईसमेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ ।

‘घटनाको अनुसन्धानका लागि क्लोज रिङ बनाइएको छ, त्यसमा चिनजानका, नजिकका आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ,’ सुदूरपश्चिम प्र्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले भने, ‘घटनायता अहिलेसम्म दुई दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेका छौं, उनीहरूलाई निगरानीमा नै राखिएको छ ।’

विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदको ‘क्लोज रिङ’ बनाइएको उनले भने । भागरथीले भारतीय र नेपाली सिमकार्ड प्रयोग गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भारतमा बस्दै आएका आफन्तसँग कुरा गर्न भारतीय सिमकार्ड प्रयोग गरेको हुन सक्ने र त्यसतर्फ अनुसन्धान आवश्यक परे भारतीय प्रहरीको सहयोगसमेत लिइने प्रहरी बताउँछ ।

प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही फोन आएको तर उनले फोन ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको देखिएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमान्डमा सुरुदेखि नै प्रहरी टोली परिचालन हुँदै आएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोलीसमेत खटिएको छ ।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ भने घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको समेत साथ लिँदै अनुसन्धानलाई अघि बढाएको सुदूरपश्चिम प्र्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तम सुवेदीसमेत आइतबार घटनास्थल पुगेका थिए । उनी हालसम्म बैतडीमै छन् ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको