March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

६ महिनामा ३.५६ प्रतिशतले मुल्यवृद्धि

  • 1
    Share

काठमाडौं, चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । मुद्राको अवमूल्यन हुँदा ३.५६ प्रतिशतकै दरमा मूल्यवृद्धि भएको छ । यसैगरी ६ महिनाको अवधिमा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ । ६महिनाको अवधिमा संघीय सरकारको खर्च ४ खर्ब १५ अर्ब ७५ करोड र राजस्व परिचालन ४ खर्ब २२ अर्ब २४ करोड भएको छ । राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.० प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर १५ प्रतिशत छ ।

६ महिनाको अन्तरालमा मूल्यवृद्धि ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा ६.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ ।

२०७६ पुसकोे तुलनामा २०७७ पुसमा घ्यु तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत रहेको छ ।

तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मूल्यवृद्धि रहेको छ । २०७६ पुसमा यी क्षेत्रमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत रहेको थियो ।

२०७७ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६.२८ प्रतिशत, ६.६५ प्रतिशत र ३.२० प्रतिशत रहेको छ ।

२०७७ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक १.७२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा सो सूचकांक १०.०४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकांक २.२२ प्रतिशतले बढेको आजको राजधानी दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको