March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

भागरथीको हत्यापछि गाउँ नै शोकमग्न, परिवारले बुझेनन् शव

  • 47
    Shares

बैतडी, दोगडा–केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि गाउँपालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा उनको शव फेला परेको थियो ।

मृतकका बुबाको दुई महिनाअघि मृत्यु भएको थियो, दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती पीडामा छिन् । श्रीमान् बितेको पीडामै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको छ ।

भागरथी बीभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशंका आफन्तको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनांगमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए । 

चडेपानीका केशव भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शंकरदत्त भट्टको भनाइ छ । ‘विद्यालयबाट फर्किने वेला घटना भएको छ, यस घटनाले आफ्नो छोरीचेलीलाई विद्यालय पठाउनसमेत मुस्किल भएको छ,’ उनले भने । 

परिवारले शव बुझेको छैन । ‘अपराधी पत्ता लागेको छैन, शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ,’ उनले भने । मृतकको शव परीक्षणको रिपोर्ट एक–दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए । 

बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिँडडुल गर्नेलाई सोधपुछ गरिरहेको छ । घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार र बिहीबार कुन–कुन सवारीसाधन सञ्चालन भएका थिए, ती सवारीसाधनमा आवतजावत गर्ने व्यक्तिलाई पनि सोधपुछ भइरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले बताए । ‘किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीलाई पनि सोधपुछ गरिरहेका छौँ,’ इन्चार्ज मोती बमले भने । 

घटनालाई गम्भीर रूपमा लिएकाले अनुसन्धान पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको आजको नयाँ पत्रिकामा खबर छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

शीर्ष समाचार

धेरै पढिएको