
काठमाडौं, संवैधानिक निकायहरूमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा अदालत गएका छन् । उनी संवैधानिक परिषद्का सदस्य पनि हुन् । उता नागरिक समाज पनि नियुक्तिविरुद्ध सडकमा उत्रिएको छ ।
सभामुख सापकोटाले शुक्रबार सर्वाेच्च अदालत पुगेर नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नियुक्त भएका पदाधिकारीहरू र संवैधानिक परिषद्का सचिवसमेत रहेका मुख्यसचिव शंकरदास बैरागीलाई विपक्षी बनाएका छन् । संवैधानिक परिषद्को नियुक्तिविरुद्ध सभामुख नै अदालत पुगेको यो पहिलो घटना हो ।
सरकारले नियुक्ति गर्न ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नै गैरसंवैधानिक भएको सभामुख सापकोटाको जिकिर छ । एकपटक जारी भएर खारेज गरिएको अध्यादेशलाई पुनः ल्याएर सरकारले अधिकारको दुरुपयोग मात्रै नगरेर संविधानमाथि जालसाजीसमेत गरेको उनको तर्क छ ।
‘एकचोटि जारी गरिएको अध्यादेशलाई खारेज गरेपछि पुनः अध्यादेशका रूपमा जारी गर्न अध्यादेशसम्बन्धी मूल्य, मान्यताबमोजिम पनि मिल्ने हुँदैन । एकपटक जारी भएको अध्यादेशलाई पुनः जारी गरिएमा अधिकारको दुरुपयोग तथा संविधानमाथि जालसाजी गरिएको मानिन्छ । तसर्थ पनि संसदीय सुनुवाइका लागि अगाडि बढाउन सकिने अवस्था थिएन,’ सभामुख सापकोटाले दायर गरेको रिट निवेदनमा भनिएको छ ।
सरकारले सुरुमा गत १२ वैशाखमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, चौतर्फी विरोध भएपछि फिर्ता लिएको थियो । ३० मंसिरमा त्यही अध्यादेश पुनः जारी गर्दै सरकारले विभिन्न संवैधानिक निकायहरूमा ३८ पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । ‘… पुनः त्यही अध्यादेशको पुनरावृत्ति हुने गरी अध्यादेश जारी गर्दा दूषित नियतका साथै अधिकारको दुरुपयोग र संविधानमाथि जालसाजी भएको मानिने भएकाले सो अध्यादेशबमोजिम संवैधानिक परिषद्को बैठक बोलाई निर्णय गर्न नै नमिल्ने देखिन्छ,’ रिटमा भनिएको छ ।
सभामुख सापकोटाले परिषद् बैठकको गणपूरक संख्यामा पनि प्रश्न उठाएका छन् । गणपूरक संख्या नै नपुगी बैठक बसेको र निर्णय गरिएको उनको जिकिर छ । ‘संवैधानिक परिषद्को बैठक वैध हुन पहिलो संशोधन अध्यादेश, २०७७ बमोजिम अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित हुन अनिवार्य छ । सम्माननीय प्रधानमन्त्री केपी ओली परिषद्को अध्यक्ष हुनुहुन्छ र तत्काल बहाल रहेका चार सदस्यमा सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सदस्य हुनुहुन्छ,’ उनले भनेका छन्, ‘संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या अध्यक्षसहित तत्काल बहाल रहेका चारजना सदस्यको बहुमत सदस्य दुईजना हुन सक्दैनन्, तीनजना सदस्य हो । तसर्थ एकजना अध्यक्ष र तीनजना सदस्य उपस्थित नभई संवैधानिक परिषद्को बैठक गणपूरक पुगेको हुन सक्दैन ।’ हाल उपसभामुख नभएका कारण परिषद्को एक सदस्य पद रिक्त छ ।
३० मंसिरको परिषद् बैठकले ११ संवैधानिक निकायमा ३८ पदाधिकारी सिफारिस गर्दा अध्यक्ष प्रधानमन्त्री ओली तथा सदस्यद्वय प्रधानन्यायाधीश जबरा र राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना मात्रै उपस्थित थिए । परिषद्मा चारजना सदस्य भएको अवस्थामा ऐनअनुसार अध्यक्ष र दुई सदस्यले निर्णय गर्नै नसक्ने सभामुख सापकोटाको दलिल छ । ‘३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री केपी ओली अध्यक्षको हैसियतमा तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सदस्यको रूपमा गरी जम्मा तीनजना उपस्थित भई निर्णय गरेको अवस्था हुँदा पहिलो संशोधन अध्यादेश, २०७७ को दफा २ को उपदफा (१) बमोजिम पनि ३० मंसिरमा गणपूरक संख्या नै नपुगी बैठक बसेर निर्णय गरेको पाइएकाले प्रारम्भिक रूपमै ३० मंसिरको संवैधानिक परिषद्को बैठक अवैध रहेको देखिन्छ,’ उनले रिट निवेदनमा भनेका छन् ।नयाँ पत्रिकाबाट







