
डोटी, डोटीको केआईसिंह गाउँपालिका–३ देउकडामा एक करोड १६ लाखको लागतमा खानेपानी निर्माण गरिएको छ । आरभी डब्लु आरएम्पी, केआईसिंह गाउँपालिका, नेपाल सरकारको लगानीमा उक्त खानेपानी आयोजना निर्माण गरिएको हो । आयोजनाबाट सो वडाका कुल ७ सय २५ घरधुरी लाभान्वित भएका छन् ।
वडाध्यक्ष रतनबहादुर कुँवरका अनुसार खानेपानीका लागि दुइवटा ९ हजार तथा १२ हजार लिटरका ट्याङ्की निर्माण गरिएका छन् । नागरिकलाई घरैमा खानेपानीको सुविधा दिने विगतको बचनअनुसार आफूहरुले खानेपानीको व्यवस्था मिलाएको वडाध्यक्ष कुँवरले बताए ।
उनले भने, ‘चुनावका बेलामा हामीले खानेपानीको व्यवस्था मिलाउँछौं भनेका थियौं, पानी नहुँदा नागरिकलाई समस्या थियो, अहिले नागरिकका माग पूरा गरेका छौं ।’
उक्त खानेपानी निर्माणका लागि स्थानीय उपभोक्ताहरुको २५ प्रतिशत श्रमदान रहेको आरभी डब्लु आरएम्पीका गाउँपालिका संयोजक गोविन्द कठायतले बताए ।
उनले भने, ‘वडाभरिमा पानीको समस्या थियो, हाम्रो संस्था र गाउँपालिकाको लगानीमा खानेपानी निर्माण भएको छ, पानीका दुखः हट्ने भयो ।’ उक्त वडाका पाँचवटा टोलमा २ सय ६३ वटा खानीपानीका धारा निर्माण गरिएको छ ।
केआईसिंह गाउँपालिका–३ देउकाँडामा पहिलोचोटि खानेपानी पुग्दा स्थानीयबासी हर्षित भएका छन् । वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरहेका सात सय २५ घरधुरीका बासिन्दा घरआँगनमै खानेपानी पुगेपछि हर्षित भएका हुन् ।
‘पानी नहुँदा तरकारीसमेत किनेर खानुपर्ने समस्या हटेको छ’, गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, ‘देउकाँडा तरकारीको राम्रो पकेट क्षेत्र हो, पानी नहुँदा तरकारी उत्पादन गर्न समस्या थियो, अब पानीको समस्या समाधान भएको छ, किसानले तरकारी उत्पान गर्न शुरु गरेका छन्, यो राम्रो पक्ष हो ।’नेपाल समाचारपत्रबाट







