
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले नेकपाका तीन पूर्वप्रधानमन्त्री पार्टी र आन्दोलन ध्वस्त पारेर देश बर्बाद पार्नतिर लागेको आरोप लगाएका छन् । चितवनका दुई विकास योजना शिलान्यास गर्न आएका प्रधानमन्त्री ओलीले नेकपाले आयोजना गरेको जनसभालाई शनिबार सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले देश बर्बाद पार्न लागेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार भरतपुर महानगरपालिकामा बन्न लागेको सिटीहलको शिलान्यास र पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक खण्डको सडक स्तरोन्नति कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले आफू देश बनाउने अभियानमा जुटेको, तर केही साथीहरू देशको बर्बादीमा लागिपरेको उनको भनाइ थियो । ओलीले पार्टी फुटेको नभई केही मानिस बाहिर गएको दाबी गरे । ‘केही मानिसहरू कुहिएको आलुजस्तै गरी निस्किए । आधिकारिक नेकपा हामी हौँ,’ ओलीले भने ।
प्रचण्डको चुनाव प्रचारका लागि माडी पुगेर आफूले भोट मागेको, तर यहाँका जनताले जिताएको नेता कुहिएको आलु परेको उनले बताए । ‘सधैँ विरोध र खुट्टा तान्नै व्यस्त रहेको प्रचण्डलाई मैले मान्छे बनाउन सकिनँ,’ ओलीले भने, ‘अब गफ लाउने होइन, काम गर्ने नेतालाई जिताउनुस् ।’ उनले आगामी वैशाखमा निर्वाचन भएरै छाड्नेसमेत दाबी गरे । गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकासमन्त्री प्रभु साह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि सभालाई सम्बोधन गरेको आजको नयाँ पत्रिकामा खबर छ ।







