
नवलपरासी, विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए ।
डीएसपी लामाका अनुसार उनीहरूको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो । उनीहरूलाई सुरुमा पृथ्वीचन्द्र अस्पताल परासी लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि भैरहवा पुर्याइएको थियो ।
बुधबार राति १० बजेपछि चिच्याएको सुनेपछि स्थानीय बासिन्दा उनीहरूको घरको छत हुँदै च्यानल गेटको ताला फोडेर कोठामा पुगेका थिए ।
स्थानीयले तीनै जनालाई छटपटाइरहेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । कोठामा दुईवटा गिलासमा पानीजस्तो तरल पदार्थ देखिएकाले त्यसमै विष राखेर छोरीहरूलाई दिएको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूले बान्ता गर्ने क्रममा १०–१२ वटा विषका ट्याब्लेट ओकलेको भेटिएको थियो । अनिताका पति जितेन्द्र वैदेशिक रोजगारीमा छन् । अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।







