
काठमाडौं, नेकपाका उपाध्यक्ष वामदेव गौतमले कार्यकारी जिम्मेवारी पाउने विश्वासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता छाड्नु नै पार्टी विभाजनको मुख्य कारण भएको बताएका छन् ।
बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले आलोपालो प्रधानमन्त्री बन्ने जगमा पार्टी एकता भएको भए पनि प्रचण्डले सचिवालयका अन्य सदस्यहरूसँग छलफल नगरी त्यसलाई छाड्नु र ओलीले पनि एकताको आधार बुझ्न नसक्नु नै विभाजनको कारण देखाए ।
ओली र प्रचण्डबीच ४ मंसिर ०७६ मा ओली पाँच वर्ष प्रधानमन्त्री रहने र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका खेल्ने सहमति भएको थियो । गौतमले सम्झौता प्रचण्डले त्यागेपछि नै विभाजनको आधार खडा भएको बताए । ‘गत वर्ष ४ मंसिरमा प्रचण्डले म प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन, दुईपटक प्रधानमन्त्री भइसकेको छु, मलाई फेरि प्रधानमन्त्री हुनैपर्ने छैन । मैले कार्यकारी भएर काम गर्न पाएपछि एकताको वेला भएको आलोपालो सहमति मैले छाडेँ । मैले प्रधानमन्त्री सञ्चालन गर्न पाउने आधा समय पनि तपाईंलाई दिएँ भन्नुभयो ।
आजको विभाजनको सुरुवात त्यसैवेला भयो । पार्टी एकताको सबैभन्दा महत्वपूर्ण पक्ष आलोपालो नै थियो । त्यो नहुँदासम्म एकता हुँदै भएन । ओलीले आफूलाई अभिभावक ठान्नुहुन्थ्यो भने उहाँले पनि आलोपालो एकताको आधार हो, तपाईंले आज छाडेर मैले लिन हुन्न, पार्टी एकता पूरा नहुँदै तपाईंले छाड्नुभयो भने एकता अगाडि बढ्दैन, आलोपालोमै तपाईं बस्नुस्, म छाड्छु भन्नुपर्दथ्यो । तर, उहाँले पनि छाड्नुभएन,’ गौतमले भने ।
प्रचण्ड–नेपाल र ओली समूहले एक–अर्कालाई विभाजनका लागि जिम्मेवार ठहर्याइरहेका वेला गौतमले एकताकै वेलाको सहमति तोडिएपछि विभाजनको आधार तयार भएको बताएका हुन् । गौतमले फुटाउनकै निम्ति प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव अगाडि सारेको र पार्टी फुट्छ भनेर नै ओलीले प्रतिनिधिसभा भंग गरेको बताए ।
आफूले प्रचण्डलाई साथ दिँदै उनको समूहमा लागे पनि प्रचण्डले आफूलाई थाहै नदिई अढाई वर्षपछि प्रधानमन्त्री बन्ने सहमति छाडेको गौतमको जिकिर थियो । प्रचण्डको कमजोरीले पार्टी विभाजनको विजारोपण गरे पनि ओलीले पद त्यागमा महानता नदेखाएकाले दुवैजनाले विभाजनमा बराबर भूमिका खेलेको पनि आरोप लगाएको आजको नयाँ पत्रिकामा खबर छ ।







