
काठमाडौं, प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनस्र्थापनाका पक्षमा बहस गरिरहेका कानुन व्यवसायीले प्रधानमन्त्री केपी ओलीले गरेको विघटनले संविधानकै ‘मृत्यु’ नहोस् भनेर ध्यानाकर्षण गराएका छन् । मंगलबार संवैधानिक इजलासमा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले प्रधानमन्त्रीले चालेको कदमबाट संविधानकै अन्त्य हुने आशंका व्यक्त गरे ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कदमले ०४७ को संविधान खाएको भन्दै अधिवक्ता महतोले अहिलेको विघटनले ०७२ को संविधान खाइदिन सक्ने बताए । ‘जसरी देउवाको विघटनले ०४७ को संविधान खाइदियो, यो विघटनले यो संविधान नखाइदिओस्,’ महतोले भने ।
०५९ मा कांग्रेसभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रसमक्ष संसद् विघटनको सिफारिस गरेका थिए । त्यही वर्ष असोज १८ मा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीबाट हटाएर शासनसत्ता आफ्नो हातमा लिएका थिए । नेपालको संविधान, २०७२ ले प्रतिनिधिसभाको ‘प्राकृतिक मृत्यु’कल्पना गरे पनि कसैले ‘हत्या’गर्न नसक्ने उनको तर्क थियो ।
न्यायाधीश सपना प्रधान मल्लले पटक–पटक गर्ने प्रश्नको जवाफ पनि उनले दिए । मल्लले ‘प्रधानमन्त्री ‘डि जुरे’ अर्थात् कानुनअनुसार ७६(२) को प्रधानमन्त्री भए पनि ‘डि फ्याक्टो’ अर्थात् व्यवहारमा ७६(१) अनुसार काम गरिरहेकोले यसले के तात्विक असर गर्छ ?’ सोध्दै आएकी छन् । जवाफमा महतोले भने, ‘कानुनको भाषा ‘डि जुरे’ हो, ‘डि फ्याक्टो’ होइन । यो अदालतबाहिर हेरिएला, अदालतले ‘डि फ्याक्टो’लाई चिन्दैन ।’
उनले संविधानको धारा ७६ अनुसार कुनै पनि प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्न नसक्ने तर्क गर्दै भने, ‘वैकल्पिक सरकारको सम्भावना रहेसम्म संसद् मर्दैन । प्रधानमन्त्री जन्माउने क्षमता रहेसम्म, धारा ७६ अनुसारका प्रधानमन्त्री बन्न सक्ने अवस्था भएसम्म कसैले संसद् मार्न सक्दैन । प्रधानमन्त्री बन्ने अवस्था नरहे प्रधानमन्त्रीले सिफारिस गर्न आवश्यक नै छैन, संसद् आफैँ मर्छ ।’
न्यायाधीश मल्लले तत्कालीन संविधानसभामा रहेका सदस्यहरूले त्यसवेला बोलेका–लेखेका विषय हाल फैसला गर्दा ध्यानमा राख्न उपयुक्त हुने वा नहुने ? प्रश्न बहसमा सोध्ने गरेकी छिन् । जवाफमा महतोले ती व्यक्तिलाई बोलाएर बुझ्नुपर्ने, कमसेकम मस्यौदा समितिका व्यक्तिसँग विचार लिनुपर्ने बताएको आजको नयाँ पत्रिकामा खबर छ ।







