May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

संसद् विघटनविरुद्धको पक्षमा राजधानीमा प्रदर्शन 

  • 1
    Share

काठमाडौं, संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध शुक्रबार शक्ति प्रदर्शन गरेको नेकपाकोे प्रचण्ड–नेपाल समूहले ‘न्यायालयले नसच्चाए’ थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

राजधानीमा भएको विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई सही ठहर्‍याए लाखौँ जनता सडकमा उतारेर गल्ती सच्चाउनेतिर लाग्ने स्पष्ट पारे । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा छ । 

विरोध सभामा अध्यक्ष प्रचण्डले अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सही ठहर्‍याए लाखौँ जनता निरन्तर शान्तिपूर्ण सडक प्रदर्शनमा उतार्नुपर्ने बाध्यता हुने बताए । यद्यपि, सर्वोच्च अदालत र न्यायाधीशहरूले पनि देशमा द्वन्द्व र हिंसा नचाहने उनले विश्वास व्यक्त गरे । ‘शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धाको प्रतिबद्धतासहित तीन–तीनवटा चुनाव लडिसक्यौँ । तर, जननिर्वाचित प्रतिनिधिसभा विघटनलाई सही ठह¥याउने काम भयो भने लाखौँ लाख जनता सडकमा शान्तिपूर्ण रूपमा उतारेर गल्ती सच्याउने मेरो प्रयास निरन्तर भइनै राख्छ,’ उनले भने ।

प्रचण्डले अदालतले ओलीको कदमलाई सही ठह¥याए शान्तिप्रक्रिया नै बिथोलिने हो कि भन्ने आफूलाई गम्भीर चिन्ता रहेको बताए । ‘केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्तिप्रक्रिया कतै भंग हुन्छ भन्ने मलाई ठूलो चिन्ता छ,’ शान्तिप्रक्रिया बिथोलिएर देश अराजकता र बर्बादीको दिशातर्फ लैजाने भूमिका नखेल्न अपिल गर्दै प्रचण्डले भने, ‘म गम्भीर शब्दमा सबैलाई अपिल गर्न चाहन्छु, यो देशलाई बर्बाद हुने बाटोमा लैजान कुनै कारणले पनि कसैले भूमिका नखेलौँ । धेरै ठूलो मूल्य चुकाएर शान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो ।’ ओलीले संसद् विघटन गरेर शान्तिप्रक्रियासमेत विघटन गर्न खोजेको भन्दै सबैखाले सेटिङलाई भत्काएर जनताले नयाँ सेटिङ खडा गर्ने प्रचण्डले दाबी गरे ।

सम्बोधनमा प्रचण्डले संविधानलाई क्षतविक्षत बनाएर अहिले प्रधानमन्त्री ओली कार्यक्रममा ‘कमेडियन’को भूमिकामा प्रस्तुत भएको आरोप लगाए । ‘आन्दोलन भएपछि केपीजी रुन थाल्नुुहुन्छ । अहिले संविधान मर्ने हो कि बाँच्ने हो आइसियूमा छ, उहाँचाहिँ सबैलाई हसाउँदै हिँड्नुभएको छ । हामी स्तब्ध छौँ । संघीय गणतन्त्र, देश र जनताको भविष्य के हुने हो भनेर चिन्तामा छौँ, उहाँचाहिँ कमेडी प्रदर्शन गरिरहनुभएको छ । यस्तो उल्टो खोपडी भएको मान्छे नेपालमा हुनुहुन्छ,’ प्रचण्डले भने । 

प्रचण्डले प्रधानमन्त्री ओली अहिले राजावादी र अरू शक्तिसँग मिलेर आफूलाई एक नम्बरको अपराधी करार गर्दै सिध्याउने तथा अर्का अध्यक्ष माधव नेपालसँग पनि फाटो उत्पन्न गराउने गम्भीर षड्यन्त्रमा लागेको आरोप पनि लगाए । ‘लड्दै जाँदा धेरै क्षति भयो, धेरै सहिद भए, धेरै बेपत्ता भए, धेरै घाइते, अपांग भए । गर्दैगर्दै जाँदा आफ्नै घरभित्र पनि छोरा मरे, छोरी मरे । मेरा लागि जीवनको सपनाभन्दा अब नेपाल र नेपाली जनतालाई सामाजिक न्याय, समृद्धि दिने, समाजवादको नयाँ मोडल दिनेतिर समर्पित छ भनेको थिएँ,’ प्रचण्डले भने, ‘तर, केपी ओली भन्ने कस्तो जातका मान्छे फेला परे भने उनलाई अहिले एक नम्बरको अपराधी प्रचण्डै हो भन्ने लागेको छ र उनको मिसन राजावादीसँग मिलेर होस् या जोसँग मिलेर होस्, प्रचण्ड सिध्याउने अनि माधवजी र मेरोबीचमा फाटो पार्ने, अनेक षड्यन्त्र भइरहेका छन्, मैले त्यो कुरा नजिकबाट हेरेको छु ।’

जनयुद्धका घाइते र अपांगता भएकाहरूको खाइपाई आएको सुविधा कटौती गर्ने सरकारले पार्टी फुटाएपछि भने ओलीले उनीहरूलाई उपयोग गर्ने नीति लिएकोमा आपत्ति जनाए । ‘जनयुद्ध शब्द सुन्नै नचाहने मान्छे पार्टी एकतापछि मान्नुहोला कि भनेको जनयुद्ध दिवसमा सहिदलाई माल्र्यापण गर्न एकचोटि जानुभएन । घाइते–अपांगहरू माइतीघर मण्डलामा अनशन बस्दा मैले ऋण गरेर, सापट गरेर दिएँ, तर यो सरकारले त पहिले खाइपाई आएको मासिक भत्ता पनि खोसिदियो । मैले धेरैपटक भन्दा टेरपुच्छर लाइएन । अहिले पार्टी विभाजनबाट अल्पमतमा परेपछि घाइते, अपांगलाई हेर्नुपर्दैन भन्दै छन् त्यही केपी ? फट्याइँ गर्न कति सकेको ? जालझेल गर्ने कस्तो दिमाग हो ?’ प्रचण्डले प्रश्न गरे । उनले आफैँले स्कुलिङ गरेर हुर्काएको कालीबहादुर खामलाई पनि आफूविरुद्ध ओलीले प्रयोग गर्न खोजेको बताए । ‘जसलाई मैले १० वर्ष स्कुलिङ गरेर हुर्काएको ती मान्छेलाई केपीले संरक्षण गरेको रे । आमाको दूध चुसेर भएन, बाबुको घुँडो, योभन्दा लाजमर्दो अरू केही हुन्छ ? प्रचण्डले नहेर्ने, केपीले हेर्ने ?’ 

प्रचण्डले ओली समूहमा लागेका पूर्वमाओवादी समूहका नेताहरूप्रति व्यंग्य गरे । ‘हिजो पूर्वमाओवादी भनेका फुट्दै आउँदै–जाने गर्ने केही–केही अहिले खरानी धसेर चिन्नै नसक्ने भएका छन् । केपीका साइबार स्यालले भन्दा त्यति धेरै खरानी धसेको देख्दा मलाई लाज लागेर आउँछ, यो चल्नेवाला छैन,’ उनले भने ।

आन्दोलनमा सहभागी भएका कर्मचारीमाथि सरकारले धम्की दिन थालेकोमा आपत्ति जनाउँदै प्रचण्डले निर्धक्कका साथ सहभागी बन्न ढाडस पनि दिए । ‘साइबर स्यालले आन्दोलनमा आउने कर्मचारीको रेकर्ड राख्ने रे ! मञ्चबाट चुनौती दिन्छु, गरेर देखाऊ, एउटालाई छोएर देखाऊ, हिजो जसरी नडराउनुस्, तपाईंको छिसिक्क रौँ हल्लियो भने संरक्षण गर्छौँ । छिट्टै जनताको सरकार आउँदै छ, कारबाही केपी ओलीलाई हुन्छ, वीरहरूलाई होइन,’ प्रचण्डले भने । 

ओलीलाई मात्र गाली गर्नेभन्दा आफ्ना कमी–कमजोरी सच्याउने र दोहोरिन नदिने जनतासामु माफी मागेर प्रतिबद्धता जनाउनुपर्ने नागरिक समाज, प्रेससहित अगुवाहरूले दिएको सुझाबलाई आफू र अर्का अध्यक्ष माधवकुमार नेपालले निकै गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो । ‘केपी ओलीलाई मात्र गाली गरेर हुँदैन भन्ने कुरालाई हामीले राम्रोसँग सुनेका छौँ, हामीले हाम्रै कमजोरीको पनि समीक्षा गर्नुपर्छ । हामीले सच्याउने कुरालाई महत्वका साथ लिनुपर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भनेको आजको नयाँ पत्रिकामा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको