March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध छ: परराष्ट्रमन्त्री ज्ञवाली 

काठमाडौं, तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री ज्ञवाली स्वेदश फर्किएका हुन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय छैटौं संयुक्त आयोग बैठकमा सहभागी भएर स्वेदश फर्किएका मन्त्री ज्ञवालीले सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताए । संयुक्त आयोगको बैठक र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटपछि सीमांकन गर्न बाँकी, नापी गर्न बाँकी भूभाग र विवाद भएको भूमिको विषय छिटो टुंग्याउन दुवै पक्ष सहमत भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

‘नेपालसँगको सीमाको विषयमा छलफल गर्न सक्नेछौं भन्ने जानकारी राजनाथजीले दिनुभएको छ,’ ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, ‘सीमामा भारतको पोजिसन मैले भनिरहनु पर्दैन । हामी सहमतिमा पुगेको अवस्था पनि होइन ।’

अब दुवै मुलुकबीचको अन्य सीमांकनसहित सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको क्षेत्रमा छलफल गर्न बाँकी छ । छलफल सम्बन्धित संयन्त्रको बैठकले टुंगो लगाउनेछन् ।

उनले राजनाथसँग ‘डिफेन्स कोअपरेसन’ को विषयमा पनि छलफल भएको बताए । ‘विपद् व्यवस्थापनमा कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘नेपाली सेनाले निर्माण गरिरहेको छांगु जाने सडकका लागि आवश्यक पर्ने विस्फोटकमा सडकवारि र पारिको समन्वय मिलाउने विषयमा छलफल भएको छ ।’

बैठकमा ट्रान्समिसन लाइन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डीपीआर गर्नेलगायतका विषयमा सहमति भएको बताए । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि सहमति भएको बताए ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको