January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

पाइलटसँग अनधिकृत शुल्क असुल गर्ने डाक्टर निलम्बनमा

  • 2
    Shares

काठमाडौं, पाइलट तथा चालकदलका सदस्यहरूसँग अनधिकृत रूपमा शुल्क उठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका डाक्टर राजीवकुमार देवलाई प्राधिकरण नेतृत्वले निलम्बन गरेको छ । डाक्टरले बढी रकम असुल गरेको विषयमा पाइलट तथा चालकदलका सदस्यहरूले उजुरी नै दिएपछि कारबाही गरेको हो ।

‘उहाँको विषयमा अहिले छानबिन चलेकाले छानबिन नसकिने समयसम्मका लागि निलम्बन गरेको हौँ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । प्राधिकरणले गत बिहीबार कारबाहीको सिफारिस गरेको थियो । 

डा. देवले पाइलट तथा चालकदलका सदस्यहरूसँग अनधिकृत रूपमा पाँच गुणा महँगो शुल्क लिएर स्वास्थ्य प्रमाणपत्र दिने गरेको खुलासा नयाँ पत्रिकाले गरेको थियो । कोभिड–१९ का कारण एयरलाइन्स कम्पनी र पाइलटसहित चालकदलका सदस्यहरू मारमा परिरहेका वेला शुल्क असुल गरेपछि उनीहरूले प्राधिकरणमा उजुरी दिएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले डा. राजीवकुमार देव र डा. सञ्जय कार्कीलाई उड्डयन स्वास्थ्य सुरपरिवेक्षकका रूपमा नियुक्त गरेको छ । देव नभएको समयमा डा. सञ्जय कार्कीलाई काम गर्ने जिम्मेवारी दिएको समेत महानिर्देशक पोखरेलले बताए । 

प्राधिकरणले पाइलटहरूको प्रत्येक एक वर्षमा स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्ने र प्रमाणपत्र जारी गर्ने गरी डाक्टरलाई नियुक्त गरेको थियो । सोही स्वास्थ्य प्रमाणपत्रका आधारमा पाइलटहरूको लाइसेन्स नवीकरण गर्ने व्यवस्था छ । तर, राजीवकुमारले ओम अस्पतालमा पाइलट र चालकदलका सदस्यहरूलाई बोलाउने र तोकेको भन्दा पाँच गुणा महँगो शुल्क असुल गर्ने गरेको पाइएको छ ।

प्राधिकरणले भने प्राधिकरणमै आएर स्वास्थ्य रिपोर्ट हेर्ने र एकजनाको १ हजार मात्रै लिने गरी नियुक्त गरेको थियो । प्राधिकरणले तोकेको डाक्टरले जारी गरेको प्रमाणपत्रका आधारमा मात्रै उडानमा सहभागी हुन पाउने व्यवस्था छ । 

उक्त १ हजार पनि प्राधिकरणले लिएर डाक्टरलाई प्रमाणपत्रका आधारमा दिने सहमति छ । तर, डा. राजीवकुमारले भने ओम अस्पतालमा बोलाएर एकजनासँग ५ हजार शुल्क लिने गरेको पाइएको छ । कोभिड–१९ का कारण पछिल्लो समय प्रत्येक १५ दिनमा पाइलट तथा अन्य चालकदलका सदस्यहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट डाक्टरलाई बुझाउने र डाक्टरले प्रमाणपत्र दिएपछि मात्रै उडानमा जान पाउने व्यवस्था छ ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको