January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

टोखामा दम्पत्तिको रहस्यमय मृत्यु, विभिन्न कोणबाट अनुसन्धान हुँदै 

  • 1
    Share

काठमाडौं, टोखाको ग्रान्डी भिल्ला नामक हाउजिङमा बस्दै आएका एक दम्पत्ति मृत अवस्थामा भेटिएको घटना रहस्यमय बनेको प्रहरीले जनाएको छ ।  उमेश केसी र उनको श्रीमती सुदीक्षा गिरी शुक्रबार घरभित्र मृत भेटिएका थिए ।  

केसी आफ्नो बेडरुममा लडिरहेको अवस्थामा तथा सुदीक्षाको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । उमेशको टाउकोबाट रगत बगेको र शव नजिकै रगत लागेको सिलौटो समेत भेटिएको प्रहरीले जनाएको छ । सुदीक्षाको शव भर्‍याङको रेलिङमा सलले पासो लगाएको अवस्थामा भेटिएको थियाे । भाडाको घरमा दुई जना मात्र बस्दै आएका थिए । 

आफन्तबाट खबर आएपछि शुक्रबार बेलुका  करिब नौ बजे प्रहरी घटनास्थल पुगेको थियो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले घटनास्थलको मुचुल्का उठाएको छ । घरको मुल ढोका बन्द रहेको र पछाडीको ढोकाको लक तोडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सुदीक्षाकी दिदी सो ढोकाबाट घरभित्र प्रवेश गरेको आशंका गरिएको छ । घटनापछि उनी घरमा पुगेको बताइएको छ । 

अमेरिका बस्दै आएका उमेश दसैँमा नेपाल आएका थिए । ग्रिनकार्ड होल्डर उनी एक सातापछि अमेरिका फर्कने तयारीमा थिए । सगुन लगायत विभिन्न कम्पनीमा उनको लगानी रहेको पारिवारीक स्रोतले जनाएको छ । 

‘प्रारम्भिक रुपमा हेर्दा घटना श्रीमान–श्रीमतीको झगडाको परिणाम हो कि जस्तो देखिन्छ’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने,‘तर, पनि अहिले नै यही नै कारण हाे भन्न सक्ने अवस्था छैन ।’ दुवै मृतकको शव अस्पताल लगिएको र पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्ट बताउँछन् । 

घटना रहस्यमय भएको परिवारले बताएपछि शनिबार दिउँसो पनि प्रहरी टोली घटनास्थल पुगेर फेरि अवलोकन गरेको थियो । मृतकको अन्तिम समयमा को–कोसँग सम्पर्क भएको थियो बुझ्न प्रहरीले उनीहरुको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको आजको नयाँ पत्रिकामा खबर छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

शीर्ष समाचार

धेरै पढिएको