
काठमाडौं, कोभिडबाट प्रभावित उद्योग तथा व्यवसायलाई कर्जाको पुनर्तालिकीकरण तथा पुनःसंरचनामा बैंकरहरू उत्साहित देखिएका छैनन् । व्यवसायीहरू यो सुविधा कोभिड प्रभावितले नपाएकाले अझै समय थप गर्नुपर्ने पक्षमा देखिन्छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जामध्ये कोभिड–१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायलाई २०७७ पुस मसान्तभित्र पुनर्तालिकीकरण वा पुनःसंरचना गर्न निर्देशन दिएको थियो । यो म्याद पूरा हुन १ साता मात्रै बाँकी छ । तर, बैंक तथा वित्तीय संस्थाहरूबाट यसको कार्यान्वयन फितलो भएको केही व्यवसायीको टिप्पणी छ ।
बैंकहरूले आफ्नालाई काखा र अरूलाई पाखा लगाएको आरोप नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले लगाएका छन् । बैंकरहरू भने आवश्यक डकुमेन्ट पूरा गरेर आएका र शर्तहरू पुगेकालाई यो सुविधाबाट वञ्चित नगरेको दाबी गर्छन् ।
केन्द्रीय बैंकले भनेअनुसारको पुनःसंरचना तथा पुनर्तालिकीकरणको सुविधा लिन सम्पूर्ण डकुमेन्ट लिएर आएका व्यवसायीलाई बैंकले सो सुविधा दिएको नबिल बैंकका डेपुटी महाप्रबन्धक मनोज ज्ञवालीले बताए । तर, यसमा प्राविधिक समस्या भएकाले बैंकहरू आफै उत्साहित भएर भटाभट काम नगरेको उनको भनाइ छ । यो व्यवस्थाले बैंक दोहोरो मारमा पर्ने उनको भनाइ छ ।
‘पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्दा प्रोभिजन राख्नुपर्ने भएकाले ब्याज असुली हुँदैन । जसले खुद नाफा र वितरणयोग्य नाफा घट्छ । यसले गर्दा बैंकहरू उत्साहित नभएका हुन्,’ उनले भने । ऋणीहरूले नियमित ब्याज तिरे वितरणयोग्य नाफा पनि नघट्ने भएकाले पुनःसंरचनामा जोड नदिएको उनको भनाइ छ ।
पुस मसान्तसम्म पुनःतालिकीकरण गर्न आएकालाई अहिले नगरे बैंकहरूले पछि गर्नुपर्यो भने झन् धेरै प्रोभिजनिङमा जान्छ वा खराब कर्जामा परिणत हुन्छ, यसो हुनुभन्दा अहिले ५ प्रतिशतको प्रोभिजनिङमै दिन बैंकरलाई उचित हुने पनि उनको भनाइ छ ।
गत साउन ४ गते राष्ट्र बैंकले मौद्रिक नीतिमार्पmत उल्लेख भएका व्यवस्था अधिकांश बैंकले पालना नगरेको नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सिंहले बताए । ‘केन्द्रीय बैंकले कोभिड प्रभावितले सुविधा पाउन भनेर दिएको पुनर्तालिकीकरण तथा पुनःसंरचनासम्बन्धी व्यवस्थाबाट सबै लघु उद्यमीहरूले लाभ लिन सकेका छैनन् । कतिपय कोभिड प्रभावित व्यवसायी यो सुविधाको सूचनाबाट वञ्चित छन् भने कतीपय व्यवसायीहरूले जिल्ला तथा प्रदेशका म्यानेजरहरूसँग कुराकानी गर्दा बेवास्ता गर्ने गरेको बताएका छन्,’ उनले भने, ‘यो सुविधा पाइहाले पनि ५ प्रतिशतमात्र साना व्यवसायीले पाए होलान् ।
यो सुविधा कोभिड प्रभावित सबै लघु उद्यमीले पाउनुपर्छ । उनीहरूलाई अझै सुसूचित गरेर सुविधा लिन अझै समय थपिनुपर्छ ।’साना तथा घरेलु उद्यमीहरूले भने अझै यस्तो सुविधाको म्याद थप्न केन्द्रीय बैंकसँग अनुरोध गर्न सुझाएको नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सिंहले बताउँछन् ।आर्थिक अभियान दैनिकबाट







