January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

सम्राटको नयाँ लुगा सम्झाउने प्रधानमन्त्री ओलीको कदम

  • 11
    Shares

काठमाडौं, राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन् । राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन् ।

देवका अनुसार सन् १९३७ अप्रिल ७ मा प्रकाशित ‘सम्राटको नयाँ लुगाहरू’ नामक लोककथा हन्स क्रिश्चियन एन्डरसनले लेखेका थिए । यो कथालाई सयभन्दा बढी भाषामा अनुवाद गरिएको छ । देवले आफूले यो कथा १० कक्षामा पढेको र नेपालको अहिलेको राजनीतिक परिस्थितिसँग मेल खाने बताए ।

‘यो कथा प्रतीकात्मक छ । महाराजले नयाँ लुगा लगाएर बजारमा जाँदा उनका अन्धभक्तहरूले भनेका थिए, महाराजको लुगा कति राम्रो । यसबाट महाराज खुसी भए। त्यसपछि उनलाई एउटा बच्चाले देख्यो र भन्यो– महाराज नांगै हुनुहुन्छ, यो कुरा सुनेर उनी दंग परे । बच्चाले सत्य बोल्यो । अहिले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम पनि यस्तै हो,’ देवले भने ।  

उनले थपे ‘प्रधानमन्त्रीको यो कदमले विभिन्न आन्दोलनको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको छ ।’  

मुलुकमा राजनीतिक स्थायित्व दिने सोचका साथ संविधान बनाएको भए पनि असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएकाले यसले अस्थिरता निम्तिएको उनले बताए । उनले भने, ‘बूढी मरीभन्दा पनि काल पल्किने खतरा भयो।’ विगतमा प्रतिनिधिसभा विघटनजस्ता धेरै घटना भएकाले त्यसलाई नयाँ संविधानले हटाएको स्मरण गर्दै उनले संविधान निर्माण गर्दा विघटनका घटना र विषयमा धेरै बहस भएको थियो । ‘संविधानको धारा ७६ को कुनै पनि उपधारामा विकल्प दिने सरकार हुँदाहुँदै विघटनको प्रावधान राखिएको छैन,’ उनले भने । संविधानले जनताको सर्वभौमसत्ता संसद्मा छ भनेको भए पनि प्रधानन्त्री ओलीले आफैंले प्रयोग गरेर संविधानविपरीत कार्य गरेको आरोप उनले लगाए ।  

नेकपा संसदीय दलका नेता दिननाथ शर्माले आफ्नो पार्टी औपचारिक विभाजन नभए पनि संघारमा पुगेको बताए। पार्टी विभाजनको संघारमा पुगेको र प्रतिनिधिसभा विघटनको अवस्थाले मुलुक प्रभावित भएको टिप्पणी गर्दै उनले भने, ‘मेरो ५५/५६ वर्षको राजनीतिक अनुभवमा सबैभन्दा दुःखको विषय यही हो ।’ शर्माले नेकपाको एकतामा नेपाली जनता खुसी भएर निर्वाचनमा ठूलो दल बनाएको कुराले पनि आफूलाई दुःख लागेको बताए । उनले बैठकमा उपस्थित नेकपाका सांसद वामदेव गौतमलाई पार्टी मिलाउन आग्रह गरे । 

उनले गौतमलाई लक्षित गर्दै भने, ‘यो पार्टीलाई जोड्ने कुनै रसायन छन् भने जोड्न प्रयत्न गर्छु भन्नुभएको छ । यो अभियान सफल होस् ।’ उनले पार्टी कुनै सिद्धान्तको आधारमा विभाजन उन्मुख भएको नभई राजनीतिक कारणले विभाजन हुन गइरहेको बताए । ‘राजनीति जनताका लागि हुन्छ भने मुहार फेरिन्छ तर स्वार्थका लागि भयो भने त्यसले मुलुकलाई समाप्त गर्छ,’ उनले भने । दलभित्रको खिचातानीका कारण लोकतन्त्र कमजोर भएको उनले बताए ।नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको