March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अर्गानिक खेतीलाई प्रोत्साहन गर्न रासायनिक मलको प्रयोग कम गर्नुपर्छ: कृषिमन्त्री अर्याल

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न रासायनिक मलको प्रयोग कम गर्दै जानुपर्ने बताएकी छन् ।

रासायनिक मलको प्रयोग पूर्णरूपमा बन्द गर्नसक्ने अवस्था अहिले नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने कुरामा जोड दिँदै उनले त्यसका लागि अहिलेदेखि नै कार्ययोजना बनाएर अगाडि बढ्न मातहतका कर्मचारीलाई निर्देशन दिइन । कृषि विभागको अनुगमनका क्रममा बिहीबार मन्त्री आर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न प्राङ्गारिक मलमा जोड दिनुपर्ने बताएकी हुन् ।

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट सुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताइन । कृषकले कृषि कर्म गर्नका निम्ति मल, बीउ, बेर्ना पाउन नसकेको समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिइन ।

मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमबारे समेत लेखाजोखा गर्न निर्देशन दिँदै उनले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडि बढाउन निर्देशन दिइन । ‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको ? त्यसको लेखाजोखा गर्नुस्’, मन्त्री अर्यालले भनिन, ‘अनुदानका कार्यक्रमलाई पुनर्विचार गरौँ । यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन । ’

बिहीबार नै पशुसेवा विभागको अनुगमन गर्दै मन्त्री आर्यालले बजारमा देखिएको बोयर बाख्राको मागको आपूर्ति गर्नेगरी काम गर्नसमेत मातहतको कर्मचारीलाई निर्देशन दिईन । कोभिड–१९ सङ्क्रमणका कारण मुलुक बन्दाबन्दीको स्थितिमा रहेका बेला किसानको दूध बिक्री नभएर सडकमा पोख्ने अवस्थाको स्मरण गर्दै उनले दूध बिक्री नहुँदा पनि त्यसबाट उत्पादित हुने परिकार बनाउने सीप तथा औजार किसानलाई प्रदान गर्न निर्देशन दिइन ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको