January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

नेकपा विभाजनमा चिनियाँ चासो, चिनियाँ नेताले प्रश्न- फेरि एकताको सम्भावना छ ?

  • 1
    Share

काठमाडौं, संसद् विघटन र नेकपा विभाजनले उत्पन्न राजनीतिक एवं संवैधानिक संकटले नेपालमा राजनीतिक अस्थिरता आउने र त्यही बिन्दुबाट नेपालको आत्मनिर्णयको अधिकार कमजोर हुन सक्ने चिन्ता जनाइरहेको चीनले नेकपाको पुनः एकीकरणको सम्भावनामाथि पनि गहिरो चासो राखेको छ । सोमबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँगको भेटवार्तामा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेकपा विभाजनसँग जोडिएको मुद्दामा छलफल गरेका छन् । 

नेकपा विभाजन भएको एक सातामै नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको टोलीले नेकपा विभाजनप्रति चिन्ता व्यक्त गर्दै एकताको सम्भावनाबारे चासो राखेको छ । ‘चिनियाँ प्रतिनिधिमण्डलले नेकपा विभाजन कसरी भयो, किन भयो भनेर सम्पूर्ण पृष्ठभूमि बुझ्न खोजेको थियो । विभाजित नेकपाको पुनः एकीकरणको सम्भावनाबारे पनि उनीहरूको चासो थियो । यसबाहेक विभाजित पार्टीमा कुन समूहमा कति शक्ति छ र संसद् पुनस्र्थापनाको सम्भावना कति हो ? जस्ता प्रश्नमा चासो राखेको छ,’ सोमबारका भेटवार्ताबारे जानकार नेकपाका एक नेताले भने । 

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले अध्यक्ष प्रचण्डसँग खुमलटारस्थित उनको निजी निवास, नेपालसँग एभरेस्ट होटेल तथा वरिष्ठ नेता खनालसँग डल्लुस्थित निजी निवासमा भेटवार्ता गरेको हो । चिनियाँ प्रतिनिधिमण्डलले पार्टी एकता हुन नसके भविष्यमा सहकार्य गर्नै नसक्ने गरी विभाजित समूहबीच थप तिक्तता नबढोस् भन्नेमा पनि चासो राखेको छ । 

आइतबार साँझ टोलीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो । चिनियाँ नेता गुओले प्रचण्डसँग नेकपामा एकताको सम्भावना कत्तिको छ भन्दै जिज्ञाशा राखेका थिए । स्रोतका अनुसार प्रचण्डको जवाफ थियो, ‘संविधानलाई नै सिध्याउन खोज्ने र नेपाली जनताले ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्रमाथि प्रहार भएको छ । उहाँ (ओली)ले संसद् विघटन गल्ती भयो भनेर आत्मालोचना गर्ने र त्यसलाई सच्याउन आफैँ पहल गर्नुभयो भने एकताको सम्भावना कायमै छ । तर, ओलीजीको गतिविधिले तत्काल एकताको सम्भावना कमजोर देखिन्छ ।’

नेकपा विभाजनको खबरले चिनियाँ कम्युनिस्ट पार्टी दुःखी रहेको जानकारी दिँदै उनीहरूले मिलेर अघि बढ्न प्रस्ट सुझाब पनि दिएका थिए । यसलाई पार्टी एकता नभए पनि भविष्यमा वाम गठबन्धनको सम्भावनाबारे उनीहरूको चासोका रूपमा नेताहरूले बुझेका छन् । 

‘उनीहरूले खुलेर कुरा त गरेनन्, कूटनीतिक रूपमा नै प्रस्तुत भए । तर, अध्यक्षले अन्तिमसम्म एकता बचाउन कोसिस गर्दागर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा नै विघटन गरेर पार्टी विभाजन गरेको प्रस्टसँग राख्नुभो’ प्रचण्डलाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘उनीहरूले नेपालमा कम्युनिस्ट पार्टी मिलेरै अघि बढ्दा खुसी थियौँ र नेपालमा राजनीतिक स्थिरता पनि पैदा गरेको थियो । तर, विभाजनको खबरले हामीलाई दुःख लागेको छ । हाम्रो चाहना त तपाईंहरू मिलेरै अघि बढ्दा राम्रो हुन्छ भन्ने हो, तर त्यो आन्तरिक मामिलाको विषय हो भन्ने धारणा राखेका थिए ।’

अध्यक्ष नेपालसँग भएकोे भेटवार्तामा पनि उनीहरूले नेकपा विभाजनले चिनियाँ कम्युनिस्ट पार्टी दुःखी भएको बताएका थिए । नेपालनिकट नेताहरूका अनुसार चिनियाँ नेताहरूले नेपालको शान्ति, स्थिरता र विकासका लागि पार्टी एकता गरेर जाँदा उपयुक्त हुन्छ भन्ने सुझाब दिएका थिए । चिनियाँ टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालसँग भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासोसमेत राखेको छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको टोलीले नेकपाको एकताको सम्भावनाबारे पनि खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको उनीहरूको संकेत थियो । 

चिनियाँ नेताहरूले वरिष्ठ नेता खनाललाई लामो व्याख्यासहित नेपालमा पार्टीहरू एकताबद्ध भएर गएकै राम्रो हुने भनेका थिए । ‘उनीहरू धमिलो पानीमा माछा मारेर एउटा पक्षलाई उचाल्ने र अर्को पक्षलाई पछार्ने पक्षमा देखिएनन् र छैनन् पनि,’ खनालसँगको भेटवार्तामा सहभागी तत्कालीन एमालेका विदेश विभागका सदस्य डा. मिलन तुलाधरले नयाँ पत्रिकासँग भने, ‘नेपालमा पार्टीहरू एकताबद्ध भएर गएकै राम्रो हुन्छ भन्ने कुरा उनीहरूले व्याख्यापूर्वक बताए, अब ती कुराचाहिँ नेताहरूले नै बुझ्ने कुरा हो ।’

उनले चिनियाँ टोली नेकपाको पछिल्लो विभाजन अध्ययन गर्ने सिलसिलामै नेपाल आएकोसमेत बताए । ‘नेपालमा पार्टी विभाजन हुने, मिल्ने शृंखला पहिलेदेखिकै हो, पहिले कांग्रेस पनि विभाजन भएपछि मिल्यो, अरू दल पनि विभाजनपछि मिले, यस्तै सिलसिला अध्ययन गर्ने र नेपालको पछिल्लो परिस्थिति बुझ्ने हिसाबले नै उहाँहरू आउनुभएको हो,’ तुलाधारले भने, ‘उनीहरू र हाम्रो सिस्टम नै फरक छ, बहुदलीय व्यवस्था भएको हामीकहाँ दलहरू टुक्रिन्छन्, फेरि मिल्छन्, तर उहाँहरूले नेपालमा राम्रो होस्, कसरी हुन्छ विकास होस्, दुई देशबीचको विकासको साझेदारी र सहमति कार्यान्वयनले निरन्तरता पाओस् भन्ने कुराहरू राख्नुभएको छ ।’ 

वरिष्ठ नेता खनालले पार्टी विभाजनको प्रमुख कारण प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम भएकाले सच्याइएको स्थितिमा एकता हुने सम्भावना रहेको जवाफ फर्काएका थिए । तत्काल एकताका लागि समस्या रहेको पनि खनालको जवाफ थियो । भेटमा सबै नेताहरूलाई चिनियाँ टोलीले नेपालको स्थिरताका लागि राष्ट्रपति सी जिनपिङ चिन्तित रहेको बताएका थिए । सीका तर्फबाट नयाँ वर्ष २०२१ को सन्देश पनि उनीहरूले सुनाएका थिए । 

चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेको छ । भट्टराईले सपरिवार कैलाश मानसरोवर जाने क्रममा चिनियाँ नेता गुओसँग २०१५ मा भएको भेट स्मरण गरेका थिए । चिनियाँ नेताले सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्ने सन्दर्भमा प्रमुख पार्टीहरूसँग सम्बन्ध विस्तारका लागि आएको बताएका थिए । भट्टराईलाई चिनियाँ टोलीले नेपालको आन्तरिक मामिलामा छलफल गर्न नआएको स्पष्ट पारेको उनको सचिवालयले जनाएको छ ।

आइतबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेर उनीहरूले नेपालमा राजनीतिक स्थायित्व, समृद्धि, विकास, निर्णय प्रक्रियामा बाह्य मुलुकको अहस्तक्षेप होस् भन्ने चाहना व्यक्त गरेका थिए । यही सन्देश चिनियाँ टोलीले प्रधानमन्त्री ओलीलाई पनि सुनाएको थियो 

नेकपा नेतालाई चिनियाँ प्रतिनिधिमण्डलका प्रश्नैप्रश्न – ‘नेकपा विभाजन कसरी भयो, किन भयो, यसको सम्पूर्ण पृष्ठभूमि के हो ? विभाजित नेकपाको पुनः एकीकरणको सम्भावना कति छ ? विभाजित पार्टीमा कुन समूहमा कति शक्ति छ ? संसद् पुनर्स्थापनाको सम्भावना कति हो ? 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जवाफ – ‘संविधानलाई नै सिध्याउन खोज्ने र नेपाली जनताले ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्रमाथि प्रहार भएको छ । उहाँ (ओली)ले संसद् विघटन गल्ती भयो भनेर आत्मालोचना गर्ने र त्यसलाई सच्याउन आफैँ पहल गर्नुभयो भने एकताको सम्भावना कायमै छ । तर, ओलीजीको गतिविधिले तत्काल एकताको सम्भावना कमजोर देखिन्छ ।’नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको