April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

१.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं, सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को बितेका साढे पाँच महिना (११ पुससम्म)मा ३९ अर्ब २४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

चालु आवका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । पुँजीगत खर्चमध्ये ११ दशमलव १२ प्रतिशत मात्र खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न अबको करिब साढे ६ महिनाभित्र ८८ दशमलव ८८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ ।

हाल मुलुकमा देखिएको प्रतिनिधिसभा विघटनलगायत राजनीतिक अस्थिरताका कारण आगामी दिनमा पुँजीगत खर्च हुन नसक्ने अवस्था उत्पन्न भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आगामी वैशाखमा घोषित निर्वाचनका कारण मुलुकको विकास निर्माणका काममा अवरोध पुग्ने भएकाले पनि लक्ष्यअनुरूप पुँजीगत खर्च गर्न मुस्किल पर्ने बताएका छन् ।

सम्बन्धित सरोकारवालाका अनुसार चालु आवमा भएको पुँजीगत खर्च प्रतिशतका हिसाबले बढी देखिए पनि खर्च आकारका हिसाबले यो निकै कम हो । गत आर्थिक वर्षको सो अवधिसम्म ९ दशमलव शून्य ८ प्रतिशत अर्थात् ३७ अर्ब ५ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो । सरकारले गत आवका लागि कुल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो । गत आवका लागि कम पुँजीगत खर्च वितरण गरेकाले प्रतिशतमा बढी देखिएको हो ।

कोरोना भाइरस (कोभिड १९) महामारीको प्रभावले मुलुकको आर्थिक गतिविधिमा संकुचन आएसँगै चालु आवको गत ११ पुससम्ममा पुँजीगत खर्च पनि हुन नसकेको हो । कोरोना महामारीको प्रभावका कारण विगतका वर्षमा जस्तो मुलुकको विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च कम भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

मुलुकको पुँजीगत खर्च वितरणको तालुकदार निकाय अर्थ मन्त्रालयले पनि चालु आवमा कोरोना प्रभावले अपेक्षाकृत रूपमा पुँजीगत खर्च हुन नसकेको स्विकारेको छ । विगतमा प्रभावकारी ढंगबाट हुन नसकेको पुँजीगत खर्च यस वर्ष कोरोना प्रभावका कारण थप घट्न गएको अर्थ मन्त्रालयको भनाइ छ ।

कोरोना महामारीका कारण अहिले मुलुकको ठूला तथा साना आयोजना निर्माणमा समस्या आएको छ । आयोजना स्थलमा पुग्नुपर्ने कामदार अझै काममा फर्किएका छैनन् । राष्ट्रिय गौरवका आयोजनाको काम पनि अपेक्षाकृत रूपमा अघि बढेको छैन । ठूला आयोजनामा परिवर्तन भइरहने आयोजना प्रमुख र लामो बिडिङ प्रक्रियालगायतका कारणले अपेक्षाकृत रूपमा मुलुकको पुँजीगत खर्च हुन नसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक रूपान्तरणको मूल आधार मानिने पुँजीगत खर्च नै हो । अपेक्षाकृत रूपमा पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणमा देशले चाहे जस्तो गति लिन सकेको छैन । गत आर्थिक वर्षमा पनि जम्मा १ खर्ब ९१ अर्ब ७७ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो ।

सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा कुल ३ खर्ब ५३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम चालु आवका लागि कुल विनियोजित बजेटको जम्मा २४ प्रतिशत मात्र खर्च हो । सरकारले चालु आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको