March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

मुख्यमन्त्री राईविरुद्व अविश्वासको प्रस्ताव ल्याइने

  • 13
    Shares

इलाम, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । आफुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोपमा मुख्यमन्त्री राईले शनिबार साँझ आङ्बोलाई पदमुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए । आङ्बो साविक माओवादी नेता हुन् भने अहिले दाहाल–नेपाल समूहमा रहेका छन् ।

मुख्यमन्त्री राई केपी शर्मा ओली समूहमा छन् । नेकपा विभाजन भएसँगै समूह नमिलेपछि आङ्बोलाई राईले पदमुक्त गरेका हुन् । ‘एक दिन पर्खिएको भए म आफैं राजीनामा दिने तयारीमा थिएँ,’ आङ्बोले भने, ‘जे भयो, ठीकै भयो । अब अविश्वासको प्रस्तावमा प्रस्तावक समर्थक बन्न पाउने भएँ ।’ उनले मुख्यमन्त्री राईविरुद्ध आइतबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको जानकारी दिए ।

आज (आइतबार) नै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताइएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको नेकपा दाहाल– नेपाल समूहका स्थायी समिति सदस्य तथा प्रदेश १ का सांसद भीम आचार्यले जानकारी दिए ।

आचार्यलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता हुने बुझिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि प्रदेश १ मा प्रचण्ड–नेपाल निकट सबै मन्त्रीले आइतबार नै राजीनामा दिने तयारी गरेका छन् ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको