February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

नेपाली एयरलाइन्स इयूको कालोसूचीमै

काठमाडौं, आठ वर्षदेखि नेपाली हवाई आकाशलाई कोलोसूचीमा राखेको युरोपेली युनियन (इयू)ले पुनः निरन्तरता दिएको छ  । केही दिनअगाडि पछिल्लो सूची सार्वजनिक गरेको इयूले नेपालका सबै एयरलाइन्स कम्पनीहरूलाई कालोसूचीमा राखेर युरोप उडानमा प्रतिबन्ध लगाएको हो । 

युरोपेली युनियन (इयू) अन्तर्गत रहेको युरोपेली आयोग (इसा)ले नेपालको हवाई आकाशलाई कालोसूचीमा राख्दा नेपालबाट सीधा युरोप उडान मात्रै रोकिएको छैन, नेपाल आउने विदेशी पर्यटकलाई बिमा कम्पनीहरूले लिने बिमाशुल्कसमेत महँगो भएको छ । जसले युरोपका पर्यटकहरूलाई नेपाल गन्तव्य नै महँगो पर्दै आएको छ । आयोगले सन् २०१३ को डिसेम्बर ५ देखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गत वर्षको डिसेम्बरसम्म हटाइसक्ने दाबी गर्दै आए पनि प्रतिबन्ध फुकुवा भएको छैन । इयूले प्रत्येक ६–६ महिनामा सूची सार्वजनिक गर्ने गरेको छ । 

तीन वर्षअगाडि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई गम्भीर हवाई सुरक्षा सूचीबाट हटाए तापनि इयूले भने निरन्तरता दिँदै आएको छ । इयूले सार्वजनिक गरेको हवाई सुरक्षा सूचीमा नेपालका सबै वायुसेवा कम्पनी प्रतिबन्धमा परेका छन् ।

नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरसहित अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पाएका तीनवटै कम्पनी कालोसूचीमा परेका छन् । आन्तरिक वायुसेवा नियमित उडान र हेलिकोप्टर कम्पनीसमेत प्रतिबन्धमा परेको इयूको कालोसूचीमा परेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ राष्ट्रिय सभामा दर्ता भइसकेका छन् । ‘आइकाओले उठाएको एक मात्रै चासो अब क्यान छुट्याउने विषय मात्रै बाँकी छ, अन्य सबै आइकाओले भनेका मापदण्डमा नेपाल पुगिसकेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नै भंग गरेपछि विधेयकको प्रक्रिया थप लम्बिने देखिएको छ । जसका कारण इयूको प्रतिबन्ध पनि थपिँदै जाने देखिएको छ ।  नयाँ पत्रिकाबाट
 

शीर्ष समाचार

धेरै पढिएको