March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

कांग्रेसले प्रतिनिधिसभा पुन:स्थापनाको कुनै एजेन्डा बोक्दैन- सभापति देउवा

  • 43
    Shares

काठमाडौं, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले प्रतिनिधिसभा पुन:स्थापनाको कुनै एजेन्डा नबोक्ने स्पष्ट पारेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले संसद् पुनस्र्थापनाको एजेन्डालाई जनतासमक्ष लिएर जानुपर्ने माग गरिरहेको अवस्थामा सभापति देउवाले त्यस्तो एजेन्डा बोक्न नसकिने स्पष्ट पारेका हुन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेन्डा संसद् पुनस्र्थापना हुनुपर्ने आवश्यकता औंल्याएका थिए । पौडेललाई जवाफ दिँदै सभापति देउवाले संसद् पुनस्र्थापनाको एजेन्डा बन्न नसक्ने बताएका हुन् । ‘संसद् विघटनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसबारे कांग्रेसले केही गर्दैन र यस विषयमा कुरा गर्ने अवस्था छैन,’ बैठकमा सभापति देउवाले भने ।

कांग्रेसले यही १३ पुसमा सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले १९ पुससम्म केन्द्रीय समितिको बैठक स्थगित गरेको आजको राजधानी दैनिकमा खबर छ ।

बैठक सकिनुअघि केही बोल्नु छ भन्दै पौडेलले केही बेर समय मागे । त्यसपछि सभापतिले उनलाई समय दिएलगत्तै पौडेलले आन्दोलनको एजेन्डाबारे पार्टी प्रस्ट हुनुपर्ने माग गरे । उनले आन्दोलन गर्न कांग्रेस डराउन नहुने बताए ।

‘आन्दोलनमा जाँदा पार्टीको एजेन्डा स्पष्ट हुनुपर्छ । संसद् विघटन अवैधानिक हो भने पुनस्र्थापना हुनुपर्छ भनेर जनतासमक्ष स्पष्ट लक्ष्यका साथ जानैपर्छ । यस्तो संवेदनशील विषयलाई झारा टार्ने गरी आन्दोलन तुहाउन खोज्नु गलत हुन्छ,’ पौडेलले भने । त्यस लगत्तै देउवाले संसद् पुनस्र्थापनाका बारेमा सडकमा जान नसकिने भएकाले यो एजेन्डा नबोक्न आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको