March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहसँगै कांग्रेस र जसपा पनि संघर्षमा

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी ओलीको सिफारिसअनुसार भएको संसद् विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्षसहित नेकपाको बहुमत पक्ष, प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त रूपमा प्रतिकार गर्ने भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह, कांग्रेस र जनता समाजवादी पार्टीको सोमबार बसेको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध मोर्चाबन्दीको निर्णय लिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाको आमन्त्रणमा सोमबार बसेको बैठकले ओलीको निरंकुश कदमविरुद्ध एकमत भएर प्रतिकारमा उत्रिने निर्णय गरेका हुन् । बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्दै साझा प्रतिकार गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘यो संविधानमा हुँदै नभएको कुरा भयो, यो संविधानमाथिको आक्रमण हो, त्यसका विरुद्ध तीन दल एक भएर प्रतिकार गर्ने सहमति भएको छ,’ बैठकपछि श्रेष्ठले भने ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले ओलीविरुद्धको प्रतिकार र संघर्षमा मात्रै नभई आगामी सत्ता–समीकरणसम्म मोर्चाबन्दीको प्रस्ताव गरेका थिए । त्यसलाई कांग्रेस र जसपाले पनि सकारात्मक रूपमा लिएका छन् । ‘संसद् विघटन गर्ने ओलीको कदम निरंकुश, अलोकतान्त्रिक र असंवैधानिक भएको साझा निष्कर्ष निस्कियो,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ पत्रिकासँग भने, ‘संविधान र लोकतन्त्रमाथि ओलीको यो आक्रमणका विरुद्ध मिलेर प्रतिरोध गरौँ भन्ने सहमति भएको छ, उहाँहरूले सत्ता साझेदारीसम्मको प्रस्ताव पनि गर्नुभएको छ, त्यो पनि सकारात्मक हो, तर हामीले पार्टीमा छलफल गर्छौँ भनेका छौँ ।’ 

बैठकमा प्रचण्डले पार्टीभित्रको घटनाक्रम सुनाउँदै ओलीको निरंकुशताको पराकाष्ठा नाघेको भन्दै त्यसका विरुद्ध प्रतिकार गर्न प्रस्ताव गरेका थिए । नेता नेपाल भने आफ्ना कुरा राखेर लगत्तै बाहिरिए । ‘प्रतिनिधिसभा विघटनको प्रतिकार गर्न तीन दल तयार भएका छौँ, अब कसरी गर्ने ? के गर्ने ? भन्नेबारे सबैले केन्द्रीय समितिबाट निर्णय गरेपछि फेरि छलफल गर्छौँ,’ कांग्रेस नेता रमेश लेखकले भने । मंगलबार कांग्रेस र नेकपाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको पनि बैठक बस्ने तयारी रहेको नेता केशवकुमार झाले बताए ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको