March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

संवैधानिक नियुक्तिको सिफारिस 

काठमाडौं, संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राईलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंसिर ३० गते बसेको परिषद् बैठकले अख्तियारसहित विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरेको खुलेको छ।

परिषद्ले नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्द र उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश किशोरकुमार सिलवाललाई अख्तियारको आयुक्त पदमा सिफारिस गरेको छ। पूर्वसचिव राई प्रधानमन्त्री ओलीको कोटामा परेका हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवाको कोटामा। सिलवाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा परेको जनाइएको छ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोग अध्यक्षमा तपबहादुर मगरलाई सिफारिस गरेको छ। मगर सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। आयोग सदस्यमा मनोज दुवाडी, डा। सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिहिर ठाकुर सिफारिस भएका छन्।

डा ढुंगेल कांग्रेस, थापा प्रधानमन्त्री र ठाकुर मधेसी कोटामा परेका हुन्। त्यसैगरी निर्वाचन आयोगका सदस्यमा रामप्रसाद भण्डारी र डा। जानकी तुलाधरको नाम सिफारिस भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस भएका छन्।

राष्ट्रिय महिला आयोग अध्यक्षमा कमलाकुमारी पराजुली, सदस्यहरूमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस भएका छन्। राष्ट्रिय दलित आयोग अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की सिफारिस भएका छन्। परिषद्ले राष्ट्रिय समावेशी आयोग अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरूमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवानको नाम सिफारिस गरेको छ। आदिवासी जनजाति आयोग अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मीन श्रीस मगर, मीनसिंह लामा, रीना राना, चरण राई सिफारिस भएका छन्।

त्यसैगरी मधेसी आयोग सदस्यमा जीवक्ष साह, रेणुदेवी साह, विजय गुप्ता सिफारिस भएका छन्। थारू आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरी, मुस्लिम आयोगमा महमुद्दिम अली र मिर्जाअर्सद बेग सिफारिस भएका छन्।अन्नपूर्ण पोस्ट् दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको