February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

काठमाडौं महानगरभित्रका विद्यालय तत्काल नखुल्ने 

  • 1
    Share

काठमाडौं, कोभिड– १९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो ।

छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसमसमेत रहेको भन्दै यस्तो वेलामा अनलाइन कक्षाहरूलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए ।  ‘अहिले जाडो मौसम छ, यो समयमा बिदा पनि हुन्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्रमा ५० हजारको ‘एन्टिजेन टेस्ट’ गर्ने भनेको छ  । योबीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाऊँ ।’ 

उनले बालबालिकाले स्वास्थ्य मापदण्ड आफैँ पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पूरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा जोड दिए ।

 स्वास्थ्य मन्त्रालयमा महानिर्देशक महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करिब ५० हजारको एन्टिजेन टेस्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाब दिए ।

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौंका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकैले कोभिड फैलिएको देखिए पनि सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्दा राम्रो हुने बताए । 

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको