March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

उखु नगदे बाली तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य

काठमाडौं, उखु नगदे बाली । तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन् । किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन् । किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन् । पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन् ।

उखु उद्योगीबाट सधैं पेलिएको किसानको गुनासो छ । करिब साढे तीन लाख रुपैयाँ बक्यौता रकम नपाएपछि आन्दोलन गर्न काठमाडौं आएको सर्लाहीका किसान रामबाबु मण्डलले बताए । ‘२०७१ सालदेखिको रकम खप्टिँदै आएको छ,’ माइतीघरमा भेटिएका मण्डलले भने, ‘चिनी उद्योगले भुक्तानी दिन आलटाल गर्दै आएका छन् ।’ मण्डलले महालक्ष्मी सुगर मिलबाट भुक्तानी लिन बाँकी छ । उखु जस्तै आँफूहरु पेलिएको किसानको दुखेसो छ ।

किसानले उत्पादन गरेको उखुबाट चिनी बनाएर उद्योगी मोटाए पनि उखु किसानले उखुजस्तै पेलिएको महसुस गर्दै आएका छन् । वर्षौंदेखि उखु बिक्री गरेबापतको रकम भुक्तानी नपाएपछि किसानले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् । किसान मार्न पाइँदैन, सरकार किसानलाई बाँच्ने अधिकार देऊ, हाम्रो मेहनतको फल नखोस, आफ्नो पसिनाको फल नखोस जस्ता नारा लेखिएका प्ले कार्ड लिएर करिब एक सय किसान प्रदर्शनमा उत्रिएका थिए । विभिन्न जिल्लाबाट आएर दिउँसो माइतीघरमा प्रदर्शन गरेका किसान बेलुका गौशालास्थित धर्मशालामा बसेका छन् ।

मुलुकभर १४ चिनी उद्योग छन् । तीमध्ये ६ उद्योगले किसानलाई ८९ करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम तिर्न बाँकी छ । चारवटा उद्योग बन्द भइसकेका छन् । रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड, महालक्ष्मी सुगर मिलको ६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रुपैयाँ बक्यौता बाँकी रहेको किसानले बताएका छन् ।

अन्नपूर्ण चिनी उद्योग सर्लाही, श्रीराम सुगर मिल रौतहट, लुम्बिनी चिनी कारखाना नवलपरासी र इन्दिरा चिनी मिल नवलपरासी बन्द भएका छन् । सर्लाहीका किसानको मात्र ३६ करोड रुपैयाँ बक्यौता छ । अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले ६ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको सर्लाहीका उखु किसान राकेश मिश्रले बताए । रकम भुक्तानीको माग गर्दै करिब दुई सय किसान राजधानी आएको मिश्रले बताए । नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको