March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

आज ७७ वटै जिल्लामा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं, प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार सरकारका विरुद्ध सडक प्रदर्शन गर्दै छ । पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि कांग्रेस कार्यकर्ता एकाएक तातिएर सडक प्रदर्शनमा उत्रिएका थिए । कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ सोमबार सरकारका विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम बनाएको हो ।

कांग्रेसले पौडेलमाथि दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गर्दै छ । कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । 

सरकारले अलोकतान्त्रिक क्रियाकलाप गरेको र लामो अन्तरालपछि गठन भएको स्थिर सरकार भए पनि जनताको अपेक्षाअनुरूप काम गर्न नसक्दा निराशा छाएको र प्रतिगामी शक्तिसमेत सल्बलाएको भन्दै सर्वसाधारण नागरिकलाई समेत सडक प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले सोमबारको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताए ।

‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुन सक्छ ?’ देउवाले प्रश्न गरेका छन् । कांग्रेसले ७७ वटै जिल्लाका लागि केन्द्रबाटै नाराहरूसमेत तयार गरेर पठाएको छ । 

कोरोनाका कारण भन्दै कांग्रेसले औपचारिक रूपमा कुनै पनि जिल्लामा प्रतिनिधि पठाएको छैन । तर, शीर्ष नेता र अधिकांश केन्द्रीय सदस्य जिल्ला–जिल्लामा पुगेका छन् । सभापति देउवाले हेटौँडामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नेछन् । 

वरिष्ठ नेता पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालार्ई सम्बोधन गर्ने कार्यक्रम छ । महोत्तरी जाने तयारीमा रहेका नेता कृष्णप्रसाद सिटौला भने कोरोना पजिटिभ भएपछि होम आइसोलेसनमा छन् ।

यस्तै, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको