March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कोभिड-१९ विरुद्धको खोप भित्र्याउन गृहकार्य तीव्र

काठमाडौं, कोभिड-१९ विरुद्ध खोप तयार भई त्यसको प्रयोग प्रारम्भ भएपछि नेपालमा पनि छिट्टै खोप आउने आशा पलाएको छ । विश्वका विभिन्न मुलुकमा खोपको प्रयोग सुरु भइसकेको छ भने नेपाल सरकारले यसको खरिदका लागि चासो र तयारी अगाडि बढाएपछि छिट्टै खोप आउने सम्भावनाबढेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को पहलमा कोभ्याक्स अनुदानको खोप छिटो आउने बाटो कुरिरहेको नेपाल सरकारले अन्य बाटोबाट खोप भित्र्याउने प्रक्रियासमेत अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार विभिन्न मुलुकले बनाएका खोप खरिद गरेर ल्याउन प्रक्रिया अगाडि बढाइएको छ । साथै खोप ऐन र नियमावलीका आधारमा खोप कोष सञ्चालन गरेर खोप छिटो ल्याउन सरकारले पहल थालेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा खोपको सचिवालय गठन गरिएको छ । साथै आठवटा कार्यक्षेत्र अनुसार समिति गठन गरेर खोप ल्याउन र त्यसपछिका कामका लागि आवश्यक पूर्वतयारी गरिरहेको छ । विश्वका विभिन्न कम्पनीले उत्पादन गरेका खोपहरूले अहिले धमाधम व्यावसायिक उत्पादनका लागि स्वीकृति पाइरहेका छन् । उनीहरूले व्यावसायिक उत्पादन बजारमा ल्याउनुअघि चाल्नुपर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए । “छिटो खोप भित्र्याउने गरी उच्च स्तरमा काम भइरहेको छ । हिजोआज हाम्रो सबै दैनिकी खोपकै लागि खर्च भइरहेको छ”, डा. अधिकारीले भने ।

विश्वव्यापी खोपको दौडमा प्रथम भएको फाइजर कम्पनीको खोप बेलायतमा प्रयोगको थालनी भइसकेको छ । त्यसपछि दोस्रो छिटो बजारमा आउन लागेको मोडेर्नाको खोप, तेस्रोमा अक्सफोर्ड युनिभर्सिटीको खोप, चौथोमा रुसको स्पुतनिक भी खोप, पाँचौमा चीनको सिनोभ्याक्स रहेको छ । त्यसपछि युरोपका विभिन्न मुलुक र जापानले उत्पादन गरेर अन्तिम चरणमा पुगेका खोपहरू पनि व्यावसायिक उत्पादनको लाइनमा छन् ।

फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने भएकाले भण्डारणका हिसाबले नेपाल ल्याउन त्यति सहज छैन । “त्यो पनि खरिद गरेर पाउने भयौँ भने सीमित मात्रामा ल्याएर कुनै उच्चस्तरीय सेवा भएको अस्पतालमा राखेर स्वास्थ्यकर्मी र फ्रन्ट लाइनमा रहेकालाई दिने सोचमा छौँ”, डा. अधिकारीले भने ।

जुनसुकै खोप पहिले भित्रिए पनि स्वास्थ्यकर्मी पहिलो चेन ब्रेकर भएकाले पनि त्यो रोक्न उनीहरूलाई पहिलो खोप दिने योजना सरकारले बनाएको हो । त्यसपछि सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत जोखिममा रहेका उमेर समूह र रोग लागेका व्यक्तिहरू खोपको प्राथमिकतामा छन् । हालसम्म कोभिड सङ्क्रमणका कारण ज्यान गएकामा अन्य रोग लागेका बढी रहेकाले पनि त्यो प्राथमिकता निर्धारण गरिएको हो ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको