समाजमा अझै रोकिएन ‘बोक्सी’ आरोपको यातना

सप्तरी, जिल्लाको शम्भुनाथ नगरपालिका–१ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भएको छ । कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । निर्मम कुटाइबाट उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ ।
छिमेकी रहेकी साह थरकी एक महिलाले सुमिन्द्राले ‘बोक्सी’ लगाएकाले आफ्नो उन्नति नभएको आरोप लगाउँदै आएकी थिइन् । उक्त आरोप सहन नसकेर आफूले ‘बोक्सी’ लगाएको प्रमाण माग्दा ती महिलाले आफन्त बोलाएर कुटपिट गरेको सुमिन्द्राले बताइन् । कपाल लुछेर भुइँमा लडाएपछि आफूमाथि लात्तीमुक्का प्रहार भएको सुमिन्द्राले बताइन् । कुटपिटमा संलग्नको यकिन बयान गर्न नसके पनि सबै परिचित नै रहेको उनले जानकारी दिइन् । उनले कुटपिट गर्नेहरूको हुलियासमेत बताइसकेको प्रहरीले जनाएको छ ।
कात्तिकको दोस्रो साता सिरहाको कर्जन्हा नगरपालिका–३ की ७५ वर्षीया वृद्धा सुदामादेवी साह आफ्नै छोराबाट कुटिइन् । ती वृद्धा छोराबाट कुटिइरहँदा टोलछिमेकका कोही चुइँक्क बोलेनन् । दुई छोराबाट छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन् । उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा भएको घाउ लामो समयदेखि निको भएको थिएन । रामऔतारले बुहारीलाई बोक्सी लगाई घाउ निको हुन नदिएको आरोप आफ्नै आमामाथि लगाउँदै आएका थिए । छोराले नै कुटपिट गरी घाँटी बटारिदिएपछि उपचारकै क्रममा सुदामादेवीको मृत्यु भएको थियो । बोक्सीको नजर झर्छ भन्दै रामऔतारले आमालाई दिसा खुवाउने प्रयाससमेत गरेका थिए । तर घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले त्यसो गर्न भने नभ्याएको छिमेकीले बताए ।
वडाध्यक्ष कपलेश्वर यादवले प्रहरीलाई खबर गरेपछि घाइते वृद्धालाई उद्धार गरी उपचारका लागि जनकपुर पुर्याइएको थियो । जनकपुरका चिकित्सकले सुदामाको घाँटीको हाड मोडिएकाले सुधार नहुने भन्दै घर पठाइदिए । सास लिन गाह्रो भएपछि जिल्ला अस्पताल सिरहा पुर्याएपछि उनको मृत्यु भएको थियो ।
व्यवस्था परिवर्तनसँगै यतिखेर बहुमतको निर्वाचित सरकार छ । स्थानीय सरकारअन्तर्गत न्यायिक समिति छ । बोक्सीको आरोप कसुर र सजाय ऐन, २०७२ ले कारबाहीका लागि कानुनी बाटो खोलिदिएको छ । तर पनि यस्ता घटनाको शृंखला नरोकिएको आजको नागरिक दैनिकमा खवर छ ।
प्रतिकृया दिनुहोस्